सवारी दुर्घटनामा बाबुछोराको मृत्यु



रुपन्देहीः रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडानं.६ कलौनी शान्तिटोलमा भएको सवारी दुर्घटनामा एकै घरका बाबुछोराको मृत्यु भएको हो ।

कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नं.को कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नं.को मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दिउँसो २ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना वडा न.१ का ५० वर्षीय टेकबहादुर परियार र ३० वर्षीय सन्तोष परियारको मृत्यु भएको हो ।

मृतक दुवै जना बाबुछोरा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

सन्तोष कपिलवस्तुमा कार्यरत प्रहरी जवान समेत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्