शहिदनगरको बजेट ५४ करोड ७७ लाख



जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट विनियोजन गरेको हो ।

सोमबार सम्पन्न नगरसभाबाट शहिदनगरका मेयर उदय कुमार यादव बरबरियाले प्रस्तुत गरेको बजेटमध्ये राजश्व बाँडफाँडतर्फ ९ करोड ४७ लाख ३३ हजार ५ सय ८० रुपैयाँ छुट्याएको छ ।

बजेटमा शिक्षा र कृषि क्षेत्रलाई विशेष जोड दिइएको मेयर बरबरियाले बताए । उनले भने–‘कृषिलाई आधुनिकीकरण गर्ने तथा शिक्षा क्षेत्रमा नगरका विद्यालयहरुमा डिजिटल प्रविधि बनाउने योजना हामीले अघि सारेका छौं । बजेटमा लैंगिक समानता, खेलकूद, स्वास्थ्य र आयूर्वेद, खानेपानी तथा सरसफाई, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार विकास, महिला तथा बालबालिका विकास, भवन तथा सहरी विकास, पर्यटन, सहकारी, वित्तिय क्षेत्र, उर्जा लघु तथा साना जलविद्युत, सञ्चार सेवा, वातावरण तथा व्यवस्थापन, कृषि तथा पशुसेवा लगायतको सर्वाङ्गिग क्षेत्रलाई समेटेर समृद्ध शहिदनगरको परिकल्पनालाई साकार पारिने छ ।’

राष्ट्रिय गौरवको योजनाको रुपमा चालु आर्थिक वर्षमै ल्याइएको शहिद सूर्यनाथ रान प्रादेशिक स्टेडियम र शहिद कामेश्वर कुशेश्वर सुविधा सम्पन्न बस पार्कको योजनालाई संघ र प्रदेश सरकारसँग समन्वय गरी सम्पन्न गरिने लक्ष्य लिइएको छ ।

नगरभित्रको समुदायिक विद्यालयहरुमा डिजिटल हाजिरीसहित एप्समार्फत डाटाहरु संकलन गर्ने र अध्ययन अध्ययापनको अन्य क्रियाकलापहरु गरिने जनाइएको छ । विद्यालयलाई डिजिटलाईज गर्नुका साथै ‘इच वन टिच वन’को माध्यमबाट साक्षरता अभियान चलाइने भएको छ ।

मेयर बरबरियाले यस बजेट तथा नीति कार्यक्रममा कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका विपन्न वर्गलाई श्रममूलक योजनाहरुमा लगाएर प्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजनाहरु ल्याइएको समेत जानकारी दिए । लकडाउन र कोरोनाका कारण प्रभावित गर्भवती महिला, अपाङ्ग तथा बालबालिकाहरुलाई केन्द्रीत गरी विशेष राहत प्याकेजको कार्यक्रमलाई मूर्तरुप दिइने,सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने नीति बजेटमा लिइएको छ ।

नेपाली कांग्रेसका नेता देवेन्द्र भर्खेरको प्रमुख आतिथ्य एवं नगरप्रमुख बरबरियाको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि तथा समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्