प्रधानमन्त्रीलाई मञ्चबाट तल झारियो



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा कुर्सी विवाद शुरु भएको छ ।

गत बुधबारदेखि शुरु भएको बैठकमा नेतारुहरुले विरोध जनाएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्ने विशेष सोफा हटाइएको थियो भने मंगलबारको बैठकमा पनि त्यस्तै विवाद शुरु भयो । अन्ततः सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियो ।

वरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल थिए ।

पहिलो दिन वरिष्ठ नेता माधव नेपालले आफ्नो आसन केही अगाडि सार्न लगाएर विरोध जनाएका थिए ।

शुक्रबारको बैठकमा पनि नेता भीम रावलले कसैलाई सोफा र कसैलाई कुर्सीमा बस्ने व्यवस्था गर्दा अध्यक्षका लागि राखिएको सोफा हटाएर कुर्सी राखिएको थियो ।

त्यसोत शनिबार तेस्रो दिनको बैठकमा प्रधानमन्त्री केही उपस्थित भए । तर, उनी काठकै कुर्सीमा बसे ।

मंगलबारको चौथो बैठकमा नेकपाले आफ्नो आसनमा अझै ‘क्रान्तिकारी’ परिवर्तन गरेको छ । आजको बैठकमा प्रधानमन्त्री लगायत सचिवालयका सबै नेताहरुलाई मञ्चबाट तल झारिएको छ । मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।

यसअघिका बैठकमा अग्लो मञ्चमा बसेका सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्