नागरिकता संशोधन विधेयकविरुद्ध जनकपुरमा विशाल विरोध प्रदर्शन



जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ल्याएको नागरिकता संशोधन विधेयक खारेजीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले मंगलबार जनकपुरमा पनि विरोध प्रदर्शन गरेको छ ।

नेकपा नेतृत्वको सरकारको महिला विरोधी विभेदपूर्ण विधेयक विरुद्ध प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाको नेतृत्वमा स्थानीय जनकचोकबाट विरोध र्‍याली निकालिएको थियो ।

जनकचोकबाट पार्टीका हजारौं नेता कार्यकर्ताहरुको सहभागितामा बाजागाजासहित निकालिएको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेता अरगरियाले नेकपाको यस निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाए । उनले राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने गरिएकोे निर्णयप्रति असन्तुष्टि जनाए । समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरितको गतिविधि भएको दावी गर्दै उनीले यसबाट अनेक शंका उब्जाएको उल्लेख गरेका थिए ।

नागरिकता विधेयक मधेशी, मुस्लिम, थारु र जनजाति समुदायको जनभावना विपरित आएको र सो विधेयक संविधानको मर्म विपरित समेत भएकोले विधेयकको विभेदकारी प्रावधानहरु खारेजी हुनुपर्ने नेताहरुले माग गरेका थिए । विरोधसभामा सहभागीहरुले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा दे’, ‘केपी ओली तेरो पाराले दुःख पायो साराले’, ‘महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर’, केपी ओली मुर्दावाद’, ‘रोटीबेटीको सम्बन्ध बिगार्न पाइदैन’, ‘विभेदकारी नागरिकता खारेज गर’, ‘मधेशीमाथिको अत्याचार बन्द गर’ लगायतका नारा लगाएका थिए ।

विरोध प्रदर्शनमा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्यहरु रामअशिष यादव, परमेश्वर साह,पार्टीका नेताहरु शेषनारायण यादव, जितेन्द्र यादव, पशुपति यादव, उमेश मण्डल, धिरेन्द्र बहादुर सिंह, ज्ञानेन्द्र झा ज्ञानु, प्रमोद यादव, सतिश लाल दास, रामबिनोद पप्पु, संजय साह, सदाशिव मिश्रा, पशुपति यादव, रामजी राय, प्रशान्त झा, जानी खान, किशन साह, नेतृहरु विभा ठाकुर, विन्दु ठाकुर, सुन्तली थापा, पुनम झा मैथिलीलगायत हजारौंको संख्यामा उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्