लकडाउनको प्रभावले सुदूरपश्चिम प्रदेशको राजस्व घट्यो



धनगढीः सुदूरपश्चिम प्रदेशमा लकडाउनको प्रभाव राजस्व संकलनमा देखिएको छ ।

आर्थिक वर्षको अन्त्यतिर पुग्दा पनि त्रिनगर भन्सार कार्यालय कैलालीले चालु आर्थिक वर्षको लक्ष्य भन्दा न्यून राजस्व संकलन गरेको छ ।

कोरोना संक्रमण फैलन नदिन सरकारले लामो समयसम्म गरेको लकडाउनले आर्थिक वर्ष सकिन १५ दिनअघिसम्म लक्ष्यको ६८.७८ प्रतिशत मात्र राजस्व संकलन गरेको भन्सार अधिकृत परमानन्द जोशीले बताएका छन् ।

चालु आर्थिक वर्षमा ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा अहिलेसम्म ४ अर्ब ६१ करोड ४ लाख ३३ हजार मात्रै राजस्व संकलन भएको उनले बताए ।
उनले भने,‘चालु आर्थिक वर्षको लक्ष्य नै गत वर्षको भन्दा ३० प्रतिशतले बढाइएको थियो, लामो समय लकडाउन भएको बेला पनि सामान आयात हुन सकेन, त्यही भएर लक्ष्य भेट्टाउन मुस्किल परेको हो ।’

चैतमा मासिक लक्ष्यको ५०.५४ प्रतिशत, बैशाखमा ४०.५७ र जेठमा ७४.८४ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । त्यस्तै साउनमा मासिक लक्ष्यको ६५.८२ प्रतिशत, भदौमा ५९.२८ प्रतिशत, असोजमा ६३.६१ प्रतिशत र कार्तिकमा ८१.३७ प्रतिशत संकलन भएको भन्सार कार्यालयको तथ्यांक छ ।

पुसमा मासिक लक्ष्यको ९०.९२ प्रतिशत राजस्व संकलन भएको र माघमा ८३.८८ प्रतिशत र फागुनमा ९१.५४ प्रतिशत संकलन भएको थियो ।

त्रिनगर नाकाबाट सबैभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ र ग्यास आयात हुन्छ । मार्बल, बिस्कुट, कागज, दालामोट, भुजिया, चामल, मकै आदि खाद्यान्न, दाना आदि बढी आयात हुने वस्तु हो ।

पेट्रोल र डिजलबाट मात्रै करिब २ अर्ब राजस्व संकलन भएको छ । दालमोठ, पापड, भुजियाबाट २० करोड ५९ लाख, कागजबाट १७ करोड १८ लाख, बिष्कुटबाट १३ करोड ६८ लाख, मार्बल, ब्लकबाट ३ करोड १८ लाख राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । अर्बौको सामान आयात भए पनि यो नाकाबाट निर्यात भने निकै न्यून छ । जसले गर्दा यो नाकाबाट मात्र नेपालले वर्षेनी करोडौं रुपैयाँ व्यापार घाटा व्यहोर्दै आएको भन्सार अधिकृत जोशीको भनाई छ ।

जेठ मसान्तसम्म त्रिनगर नाका भएर १६ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ मूल्य बराबरको समान आयात भएको छ । गत आर्थिक वर्षमा मात्रै नित्रगर नाकाबाट १९ अर्ब ७६ करोड मूल्यको सामान आयात भएको भन्सारको तथ्यांक छ ।

आयात गरिएकोमध्ये तेस्रो मुलुकबाट आउने सामान नगण्य रहेको भन्सार कार्यालयले जनाएको छ ।

आयात अर्बमा हुँदा निर्यात भने करोडमा हुने गरेको छ । चालु आर्थिक वर्षमा ५० करोड ८० लाख मूल्यको सामान मात्र निर्यात भएको उनले बताए । कत्था, टार्पेन र रोजिन मात्र यहाँबाट निर्यात हुन्छ । निर्यातजन्य सामान उत्पादन हुन नसकेकाले निर्यात न्यून रहेकोले स्वदेशी उत्पादन बढ्न नसक्नु र आयातमा निर्भरता बढ्दै जानुले भारतसँगको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ ।

२ वर्षयता त्रिनगर नाका भएर ३ अर्ब १५ करोड मूल्यको चामल मात्रै आयात भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार यस वर्ष जेठसम्म मात्रै १२ करोड मूल्यको आलु र २४ करोड मूल्यको मकै भारतबाट आयात भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्