नेकपा स्थायी कमिटीको बैठकमा खैलाबैला



काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक चलिरहेको छ ।

गत असार १० गतेबाट शुरु भएको बैठकको पहिलो दिनमा विभिन्न एजेण्डाहरु तय भएको थियो । नेपाल भारत सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गर्नुपर्ने पहलका विषयमासमेत छलफल गर्न एजेण्डा तय गरिएकोमा बैठकको चौथो दिन आज पार्टीभित्रको विवाद चुलिएको देखिएको छ ।

तेस्रो बैठकको भोलिपल्ट जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भारतले आफ्नो कुर्सी हल्लाउन चाहेको तर त्यो प्रयास निरर्थक हुने अभिव्यक्ति पछि अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौथो बैठकको शुरुमै यही विषयमा असन्तुष्टि राख्दै भने,“तपाई अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्नुस् भारतले होइन मैले भन्या हुँ ।” पछिल्लो समय यी अध्यक्षबीचको दोषारोपणको श्रृङखला चलिरहेको छ ।

त्यसमाथि चौथो बैठकमा भारतले प्रधानमन्त्रीको कुर्सी हल्लाउन चाहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न खडा गर्दै उनले प्रमाण मागेपछि वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य वामदेब गौतमले साथ दिएका थिए ।

बैठक भनाभनमा मात्रै टुंगिएन अर्काे विषयले पनि प्रवेश पाएको छ । पूर्व नेकपा एमाले तर्फबाट झापाकी सन्ध्या तिवारी लगायत अन्यले एमाले दल दर्ताका लागि निवेदन दिएको बताइएको छ ।

भण्डारीको जन्मजयन्तीको दिन पारेर १४ गते निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता भएको भन्ने विषयमा स्थायी कमिटिमा खैलाबैला भएको र दल दर्ताको निवेदन परेको पनि विभिन्न प्रावधानहरु पुरा गर्नुपरेकोले दल दर्ता नभएको निवेदन भने परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्