पार्टी र सरकार सञ्चालनमा ओली असफल रहेको भन्दै राजिनामा माग



काठमाडौं: पार्टी र सरकार सञ्चालनमा असफल भएको भन्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा आलीले राजिनामा दिनुपर्ने माग उठेको छ ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बोल्दै मंगलबार बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले सहितका नेताहरुले यस्तो माग उठाएका हुन् ।

गत आईतबार आफू नेतृत्वको सरकार ढाल्न नयाँदिल्ली र आफ्नै पार्टीका नेताहरु लागेको अभिव्यक्ति ओलीले दिएपछि त्यसको जवाफ समेत माग गर्दै राजिनामा माग गरिएको बैठकमा सहभागि एक नेताले बताए । ओलीले सरकार ढाल्का लागि भारतीय राजदुत देखी आफ्नै पार्टी नेकपाका नेताहरुको बैठक होटलहरुमा समेत बाक्लो भएको बताएका थिए ।

‘बुधबारको बैठकमै मैले तपाईबाट सरकार र पार्टी सञ्चालन राम्रो नभएको बताएको हुँ,’ एक स्थायी कमिटी सदस्यले दाहालको भनाई उद्धृत गर्दै भने, ‘अहिले फेरि पनि भन्छु राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस् ।’

अध्यक्ष दाहाल सहित वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएको भन्दै राजिनामा दिनुपर्ने माग उठाए । शिर्ष नेता सहित बैठकमा बोल्ने स्थायी कमिटीका सदस्यहरुले समेत ओलीको राजिनामा बिषय उठाएका छन् ।
‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ । आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु’ दाहालले बैठकको शुरुमै भनेका छन्, ‘तपाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुहोस् ।’

यस्तै उनले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन परेको बिषयमा समेत प्रश्न उठाउँदै जानकारी गराउँन माग गरेका छन् । सरकार ढाल्ने बिषय बोलेको अभिव्यक्तिले पार्टीको साख गिरेको निष्कर्ष दाहालको रहेको छ ।

दाहाल, नेपाल, खनाल सहितका नेताहरुले राजिनामा माग गरेपछि ओलीले सरकारको बचाउँ गरे । सरकारले राम्रो काम गरिरहेको भए पनि पार्टीबाटै सहयोग नभएको गुनासो ओलीले गरेको छन् ।
‘बैठकमा चलिरहदा बैठकमा उठेका बिषय र भारतीय मिडियामा कसरी हुबहु आयो ?’ ओलीले प्रश्न गर्दै भने, ‘सरकारले राम्रो काम गर्दा समेत पार्टीबाटै असहयोग भयो ।’

बैठकको एजेण्डा सरकार र पार्टी सञ्चालन नभए पनि ओलीको पछिल्लो अभिव्यक्ति आएसंगै उनको राजिनामाको बिषय उठेको बताईएको छ । गत बुधबारदेखी जारी स्थायी कमिटी बैठकमा अध्यक्षद्धय ओली र दाहालले आफ्नो धारणा व्यक्त गरेपछि सीमा समस्याको बिषयमा छलफल भईरहेको थियो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति, निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमाले लगायतका बिषयमा बैठकमा छलफल भएको बताए ।
‘सरकार गिराउँन भारत सक्रिय रहेको बिषयका साथै निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमाले बिषयमा बैठकमा कुराहरु उठेका छन’ प्रवक्ता श्रेष्ठले भने, ‘सबै बिषयमा गम्भिर रुपमा छलफल जारी छ ।’

बैठकमा सचिवालयका नेताका साथै स्थायी कमिटी सदस्यहरु बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्य सहित १८ जना नेताले आफ्नो धारणा राखेका छन् । बैठक बुधबार पुन बस्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्