कांग्रेस महाधिवेशन फागुनमा



काठमाडौँ : कांग्रेसले केन्द्रीय महाधिवेशन आगामी फागुनमै गर्ने भएको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिनाभन्दा बढी समय पार्टीका गतिविधि ठप्प भए पनि महाधिवेशन नसार्ने निर्णय मंगबार केन्द्रीय कार्यसमिति बैठकले गरेको हो ।

गत पुस ११ को बैठकले महाधिवेशन फागुन ७–१० मा हुने गरी प्रदेश, जिल्ला, पालिका, क्षेत्र र वडा तहको तालिका सार्वजनिक गरेको थियो । केन्द्रको महाधिवेशन यथावत् राखिए पनि तल्ला तहका अधिवेशनको तालिका परिमार्जन भएका छन् । आइतबारको पदाधिकारी बैठकको सहमतिअनुसार महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको महाधिवेशनको परिमार्जित तालिकालाई मंगलबार अनुमोदन गरिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट सदस्यहरू र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतले केन्द्रीय महाधिवेशन तोकिएको मितिमै हुनेमा आशंका गरेका थिए । उनीहरूले केही समय सारेर भए पनि महाधिवेशनको सुनिश्चिततामा ध्यान दिन नेतृत्वलाई आग्रह गरेका थिए । ‘तोकिएकै मितिमा महाधिवेशन गर्न कम्मर कस्नु भएको छ, यो आँटलाई सम्मान गर्छु । तर गर्न सक्नुहुन्छ कि हुन्न, त्यो विचारणीय छ,’ सिटौलाले बैठकमा भनेका थिए, ‘फत्ते गर्नुभयो भने धन्यवादको पात्र हुनुहुनेछ ।’ सिटौलाको जस्तै अभिव्यक्ति अर्का केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले पनि राखेका थिए । उनले केन्द्रीय महाधिवेशन समयमै गर्ने कार्यतालिका स्वागतयोग्य भए पनि हुने/नहुने आशंका रहेको बताए । उनले केही समय सारेर भए पनि महाधिवेशन सुनिश्चित गर्नुपर्ने सुझाव दिएका थिए ।

नागरिकता विधेयकमा विरोध गर्ने

नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलाले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रस्तावित प्रावधान संविधानको भावना र राजनीतिक सहमतिको विपरीत रहेको कांग्रेसको ठहर छ । केन्द्रीय कार्यसमितिमा छलफल हुनुअघि नै कांग्रेसको पदाधिकारी बैठकले नागरिकता ऐन २०६३ अनुसारकै अडान पार्टीले लिने निर्णय गरेको थियो । हाल प्रचालनमा रहेको नागरिकता ऐनमा नेपालीसँग बिहे गरेर आएका विदेशी महिलाले अंगीकृत नागरिकता लिन चाहे तत्कालै पाउन सक्ने प्रावधान छ ।

केन्द्रीय कार्यसमितिमा केही सदस्यले फरक विचार व्यक्त गरे पनि पार्टीले सात वर्षे प्रावधानको सशक्त विरोध गर्ने निर्णय लिएको हो । नागरिकता, नेपाल निजामती र विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेका विधेयकलाई लिएर कांग्रेसले संसद् अवरोध गर्नेसम्मको बाटो लिएको छ । विधेयक जबर्जस्ती अघि बढाइए संसद् अवरोध गर्ने रणनीतिमा कांग्रेस पुगेको एक केन्द्रीय सदस्यले बताए । ‘त्यसलाई पछि संसदीय दलको बैठकले औपचारिकता दिनेछ,’ उनले भने । बैठकमा कतिपय नेताले यस विषयमा कुरा उठाउँदा संवेदनशील बन्नुपर्ने बताएका थिए । पूर्वमहामन्त्री सिटौलाले कांग्रेसले अहिले आएर नभई तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारकै पालामा यस्तो लाइन लिइसकेको बताए । राष्ट्रिय सहमतिका आधारमा बनेको अन्तरिम संविधान र नागरिकता ऐन २०६३ विपरीत जान नहुने तर्क सिटौलाको थियो ।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीेले नागरिकता विधेयकमा कांग्रेस साथमा छ भन्ने अनुभूति मधेसी जनतामाझ दिन सक्नुपर्ने बताए । ‘सरकारले ल्याएको विधेयक पारित हुँदा मधेसमा द्वन्द्व बढ्न सक्छ, सकभर पार्टीले संवाद गरेर सत्तारूढलाई पनि सहमतिमा ल्याउनुपर्छ,’ उनले भने, ‘यो बैठकले कांग्रेस मधेसी जनताको पक्षमा छ भन्ने सन्देश दिनुपर्छ ।’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने नक्सा प्रकरणमा निर्माण भएको पार्टीको छवि नागरिकता र एमसीसी प्रकरणले धुमिल हुन पुगेको भन्दै पार्टी नेतृत्वलाई यी दुवै सवालमा निर्णय लिँदा गम्भीर बन्न आग्रह गरेका थिए । उनले एमसीसीबारे पार्टीमा छलफल नभएको पनि असन्तुष्टि पोखे ।

कांग्रेसको परिमार्जित तालिका

केन्द्रीय महाधिवेशन फागुन : ७–१०

प्रदेश अधिवेशन : माघ ६

जिल्ला अधिवेशन (एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेकाको) : पुस १६

जिल्ला अधिवेशन (एक निर्वाचन क्षेत्र रहेकाको) र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको : पुस १३

प्रदेशसभा क्षेत्रीय अधिवेशन : पुस ११

गाउँ/नगरपालिका अधिवेशन : पुस ८

वडा अधिवेशन : पुस ६

कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्