भारतबाट प्रवेश गरेको सलह ५२ जिल्लामा फैलियो



काठमाडौं : शनिबार भारतबाट प्रवेश गरेको सलह किरा नेपालको ५२ भन्दबढी जिल्लामा फैलिएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले भारतबाट प्रवेश गरेको सलह तराई, पहाड हुँदै हिमाली जिल्लासम्म पुगेको छ ।

‘खोटाङ, भोजपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङमा समेत सलह देखियो,’ उनले भने– ‘चिसो ठाउँमा हुनु नपर्ने तर देखियो ।’

सलहको संख्या बढ्दै गएकाले पहाडका किसानलाई दुःख भएको उनले बताए । पानी परिरहँदा सबै सलहको झुन्ड खेतबारीमा पुगेको छैन । पश्चिम भारततर्फ सलहको ठूलो समूह देखिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जनाए । त्यसैले केही झुन्ड अझै आउने सम्भावना रहेको उनले बताए ।

रूपन्देही र डडेलधुरामा सोमबार नयाँ सलहको झुन्ड देखिएको छ । सोमबार करिब ४ बजेतिर प्रवेश गरेको सलहको ठूलो झुन्ड (करिब १२ लाखको संख्यामा) टुक्रिएर दाङदेखि रोल्पासम्म पुगेको सुवेदीले जानकारी दिए ।

रूपन्देहीबाट छिरेको सलहको ठूलो झुन्ड टुक्रिएर अर्घाखाँची, प्यूठान र दाङतिर गएको र दाङ प्रवेश गरेको झुन्ड तीन समूहमा टुक्रिएर लमही, रोल्पा गएको देखिन्छ उनले बताए ।

केन्द्रका अनुसार दाङको लमहीमा करिब २ लाख सलह पुगेका छन् । पश्चिम भारतबाट उत्तराखण्ड जाने क्रममा डडेलधुरामा पनि सलह छिरेको सुवेदीले बताए ।

त्यसोत भारतबाट चार दिनमा करिब ३५ लाख सलह भित्रिएका छन् । पछिल्लो समय ठुल्ठूलो झुन्डमा सलह भित्रिरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्