कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन



काठमाडौं : नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान गंगालाल हृदयरोग केन्द्रमा निधान भएको छ ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा ६३ वर्षीया सांसद छन्त्यालको निधन भएको कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेकी छन्त्यलाको मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको थियो ।

कांग्रेस सचेतक भुसालका अनुसार छन्त्यालको बुधबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आएकी थिइन् । उनी २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।

उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको हो ।

छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

सांसद छन्त्यालको निधनप्रति कांग्रेस नेताहरुले दुःख व्यक्त गरेका छन् ।

प्रकाशन : असार १७, २०७७

प्रतिक्रिया दिनुहोस्