पार्टीमा एकता कायम गर्न प्रधानमन्त्री ओलीलाई नेताहरुको सुझाव



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरुले पार्टी एकता कायम राख्न सुझाव दिएका छन् ।

बुधबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली सुझाव मागेका हुन् ।

‘परिस्थिति जटिल हुँदै गयो । के गर्ने सुझाव दिनुस् कोरोना महामारी छ । पार्टीमा यस्तो जटिलता आयो ।’ प्रधानमन्त्री ओलीले नेताहरुलाई भने–‘सरकारले सक्दो गरेकै हो, अब तपाईंहरुले के सोच्नुभएको छ ।’

प्रधामन्त्रीले सुझाव मागेपछि सहभागी मन्त्रीहरुले कोरोना महामारी जारी रहेको र अझै धेरै आर्थिक संकट आउने देखिएकाले यस्तो बेलामा पार्टीमा एकता कायम गर्न सुझाव दिएका थिए । छलफलमा प्रधानमन्त्री ओलीले आफ्ना कुरा राख्नेभन्दा पनि सहभागीका कुरा सुनेका थिए ।

यता नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन र अन्तरबिरोधको समाधानका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो। बाँकी नेता र सदस्यहरुसँग पनि परामर्श गर्ने प्रमले बताउनु भयो जुन सकारात्मक छ,’ मन्त्री भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्–‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ । चिज सकारात्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौं ।’

मंगलबारको स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् सदस्य तथा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका हुन् । बिहान ८ बजेका लागि बोलाइएको छलफलमा माओवादी समूहबाट मन्त्री भएकाहरु रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टमात्रै बालुवाटार पुगेका थिए ।

मंगलबारको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । हिजोको बैठकमा ओली सहित १८ जनाले आफ्नो धारणा राखेका थिए भने १२ जनाले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

आज पनि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ ।

प्रकाशन : असार १७, २०७७

प्रतिक्रिया दिनुहोस्