शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित हुने



काठमाडौं : नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले संसद बैठक स्थगित हुने भएको छ । संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको थियो ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार बैठकमा शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको हो ।

संसद सचिवालयका सूचना अधिकारी धमलाले आजको बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुने बताए ।

यसअघि संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख थिए ।

प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भएको हो । छन्त्याल बहालवाला सांसद भएकाले संसद बैठक तोकिएको समयमै सुरु हुने छ र शोक प्रस्ताव पारित गर्दै सकिने छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश गर्दैन ।

प्रकाशन : असार १७, २०७७

प्रतिक्रिया दिनुहोस्