प्रस्तावित नयाँ दल नेकपा एमालेमा २१ पदाधिकारी (नामवालीसहित)



काठमाडौं : असार १४ गते निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि परेको निवेदनमा २१ जना पदाधिकारी रहेका छन् ।

आवेदनमा दलको नाम, कार्यसमितिकोे पदाधिकारीहरुको नाम, विधान, घोषणापत्र, विनियमावलीलगायतका कागजातहरु, झण्डा, चिह्न पनि पेश भइसकेको आयोगले जनाएको छ ।

दलको पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादी’ राखिएको छ । दलको नाममा कतैपनि कमा, फुलस्टप नरहेको आयोगको भनाई छ । साथै चुनाव चिह्न भने हिमालमा उदाउँदै गरेको घाम राखिएको आयोगले जनाएको छ ।

दल दर्ताको निवेदनमाथि अध्ययन भइरहेको र अध्ययनको क्रममा केही आवश्यक कागजपत्र छुटेको भए सम्बन्धित व्यक्तिहरूसँग माग गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । यो सबै प्रक्रिया पूरा गर्न ४५ दिनको समय उपलब्ध हुने र ४५ दिनभित्र कागजातको भेरिफिकेसन गर्नेलगायत कागजातसमेत बुझाउनुपर्ने श्रेष्ठले बताए ।

नेकपा एमाले दर्ताका लागि दिएको निवेदनमा अध्यक्षमा सन्ध्या तिवारी (विराटनगर–६ मोरङ), उपाध्यक्षमा भगवती खड्का (रामेछाप) र महासचिवमा मनिस कुमार उपाध्यक्ष (जनकपुर) रहेका छन् । यसैगरी सचिवहरुमा अस्मिता सुनार (खोटाङ), दावा लामा (सर्लाही), जयराम राउत (रौतहट), खगेन्द्र प्रसाद भुषाल (पर्वत), राधा पुरी (अर्घाखाँची), हिराबहादुर बोहोरा (डोल्पा) र तारादेवी शाही (बाझुरा) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा पवन विष्ट (स्युचटार, काठमाडौं), निलम पोखरेल (झापा), किरण लामिछाने (गोठाटार, काठमाडौं), उमेश महत्तो (सर्लाही), उषाकुमारी झा (धनुषा), प्रदिपराज गिरी (गोठाटार, काठमाडौं), पूर्णीमा तामाङ (काभ्रे), निश्चित बस्नेत (सिरहा) र सञ्जिब विष्ट (गोठाटार, काठमाडौं) नेकपा एमाले पदाधिकारीहरु रहेका छन् ।

नेकपा एमाले नामक दल दर्ताका लागि आवेदन परेको विषयले नेकपाको मंगलबार बसेको स्थायी समिति बैठकमा चर्चा पाएको थियो ।

उक्त पार्टी दर्ताका लागि आयोगमा निवदेन पर्नुमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै हात रहेको आरोप लागेको थियो ।

समिति बैठकमा नेकपा नेता वामदेव गौतमले केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले दर्ताका लागि निवेदन आएको ठोकुवा गरेको एक स्थायी समिति सदस्यले बताएका थिए ।

‘आफूसँग प्रमाण, सूचना भएको दाबी गरेको बताए,’ उपाध्यक्ष गौतमलाई उद्धृत गर्दै ती स्थायी समिति सदस्यले भने–‘यदि छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु ।’

प्रकाशन : असार १७, २०७७

प्रतिक्रिया दिनुहोस्