पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा शाही पक्राउ



काठमाडौंः सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कालिकोट रासकोट नगरपालिका-४ बस्ने विजय शाही भन्ने ४३ वर्षीय ऐन बहादुर शाही पक्राउ परेका हुन् । २०७६ फागुन २८ गते मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली मनहरा मनोरम पार्कस्थित पूर्वमन्त्री बाँस्कोटाको निर्णाणधीन घरमा बम विस्फोट भएको थियो ।

उक्त विस्फोटका मुख्य योजनाकार शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट पक्राउ गरेको हो ।

यसअघि सोही घटनामा संलग्न अभिषेक भन्ने टेक बहादुर विक, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी र देबी बहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धानपछि जिल्ला अदालत भक्तपुरको २०७६ फागुन ३० गते पत्रले देवी बहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र बाँकी ३ जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ परेका शाही उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान भैरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्