बिहीबार कांग्रेसले औपचारिक कार्यक्रम नगर्ने, झण्डा आधा झुकाउने



काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य ज्ञान कुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै भोली अर्थात बिहीबार कुनै पनि औपचारिक कार्यक्रम नगर्ने पार्टीले निर्णय गरेको छ ।

बिहीबारका पार्टी केन्द्रीय कार्यालय बन्द रहने छ भने केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने भएको छ ।

केन्द्रीय कार्यसमितिको बुधबार सभापति शेरबहादुर देउवाूको अध्यक्षतामा बसेको बैठकद्वारा छन्त्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

वि.स. २०१४ सालमा बाग्लुङ्ग जिल्लामा जन्मिएकी ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ्ग निवासी स्व. छन्त्याल वि.स. २०७० मा वाग्लुङ्गको निर्वाचन क्षेत्र नं. ३ बाट संविधान सभा सदस्य पदमा निर्वाचित र २०७४ मा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य भएकी थिइन् ।

वि.स. २०४६ सालबाट नेपाली कांग्रेस पार्टीमा आबद्ध भई राजनीतिक यात्रा शुरु गर्नु भएकी स्व. छन्त्यालले नेपाल महिला संघ जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसमितिको सल्लाहकार, महासमिति सदस्य जस्ता पार्टीको विभिन्न पदमा रहेर पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

छन्त्याल राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यहरुमा सक्रिय रहँदै आएको कांग्रेसले जनाएको छ । उनको निधनबाट पार्टीले एक निष्ठावान एवं कुशल महिला नेतृलाई गुमाएको र अपूरणीय क्षति पुगेको पार्टीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्