मुस्ताङमा भारी हिमपात, विकास आयोजना ठप्प, हिउँमा पुरिए जंगली जनावर (फोटोसहित)



म्याग्दी : करिब दुई सातासम्म निरन्तरको हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रभावित भएको छ। हिमपातका साथै लोपोन्मुख जंगली जनावर र चौंरीहरु पनि हिउँमा पुरिएर मरेका छन्।

 

मुस्ताङमा सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायत पूर्वाधार आयोजनाको काम ठप्प बनेको छ। यसवर्ष फागुनको तेस्रो सातासम्म पनि हिमपात भएको जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हमो गुरुङले बताए। 

दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदुर चिसोले काम गर्न नसकेपछि फर्किएका छन्। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्डको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम पनि ठप्प छ।

तयारी अवस्थामा रहेका चार वटा पक्की पुलको ढलान गर्ने काम पनि हिउँका कारण रोकिएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताए। आयोजनाको काम एक महिनापछि धकेलिएको छ। 

जोमसोम–कोरला सडकको निर्माण कम्पनी अमित विल्डर्सका सञ्चालक अमित तुलाचनले चिसोले काम गर्न नसकेपछि तराईबाट आएका मजदूर फर्किएका बताए।

विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पुँजीगत बजेट परिचालनमा समस्या देखिएको छ। मुस्ताङका पाँच वटा स्थानीय तहले पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन्। 

बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतीक्षामा रहेको जनप्रतिनिधिको भनाइ छ। कागबेनीदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा पुसदेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्।

हिउँ पन्छाएपछि सोमबार कागबेनी–मुक्तिनाथ सडक खुलेको छ। जाडो छल्न बेंसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन सकेका छैनन्। चरनको अभावले चौंरीगाई, भेडा र च्यांग्रा मर्न थालेका छन्। 

मृग, घोरल, कस्तुरी मृगजस्ता वन्यजन्तु पनि आहाराको अभावले प्रभावित बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)की रेञ्जर धनु गुरुङले बताइन्।

उता हिमपातका कारण उपल्लो मुस्ताङ र छिमेकी चीनको तिब्बतसँग जोडिएको सीमावर्ती क्षेत्रमा कस्तुरी, मृग, घोरललगायत वन्यजन्तु हिउँमा पुरिएर मरेका स्थानीय टकसर लोवाले जानकारी दिए। 

एक्याप क्षेत्रमा पर्ने मुस्ताङमा घरपालुवा र जंगली जनावर मरेका छन्। पाँच वटा गाउँपालिका रहेको मुस्ताङको माथिल्लो क्षेत्रसम्मै हिमचितुवा, कस्तुरी, मृग, जंगली घोडा आदि पाइन्छन्।

चरन क्षेत्रमै मरे चौंरी र भेडा

अत्यधिक हिमपातका कारण हिउँमा पुरिएर चरन क्षेत्रमै ठूलो संख्यामा चौरीगाई र भेडाच्याङ्ग्रा मरेका छन्। छिमेकी देश चीनसँग जोडिएको कोराला नाका आसपासका गाउँमा बाक्लो हिमपातका कारण चरन क्षेत्रमा ५० भन्दा बढी चौंरीगाई र भेडाच्याङ्ग्रा मरेका स्थानीयले बताएका छन्।

लगातारको हिमपातसँगै चरन क्षेत्रमा पुरिएको अवस्थामा चौरीगाई र भेडाच्याङ्ग्रा भेटिएको स्थानीयलाई उद्धृत गर्दै पेमा गुरुङले बताइन्। लोमान्थाङ, छोसेर, छोन्हुपलगायत चरन क्षेत्रमा पशु चौपायाँ हिउँमा पुरिएर मरेका भए पनि क्षतिको पूर्ण तथ्यांक भने प्राप्त भइसकेको छैन। 

स्थानीयका अनुसार अत्यधिक चिसोका कारण १५ दिनमा ५२ ओटा चौंरीगाई मरेको अवस्थामा भेटिएका छन्। हिमपातका कारण उपल्लो मुस्ताङमा रहेका भेडाच्याङ्ग्राको गोठमा समेत क्षति भएको छ ।

हिमपातका कारण सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जोड्ने सडकसमेत सुनसान छ। सञ्चार सम्पर्क नभएका कारण स्थानीयले पशु चौपायाको विवरण संकलन गरी सम्बन्धित निकायमा पुर्याउन सकेका छैनन्। 

चरन क्षेत्रमा छोडिएका चौंरी र याकहरु गोठसम्म फर्कनसक्ने अवस्था नभएकाले कृषकले पशु चौंपाया आवतजावत गर्न मिल्ने गरी ट्रयाक खोल्ने तयारी गरका छन्।

यी दुर्लभ तस्वीरहरु हुन् । तस्वीर सौजन्य : पेमा गुरुङ

प्रतिक्रिया दिनुहोस्