तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजित



दाङ : तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो । गत आर्थिक वर्ष २०७५/०७६ मा १३ र चालु आवमा १९ विद्यालय गाभिएको उनको भनाइ छ ।

अहिले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनाका साथै आवश्यकतानुसार शिक्षक, कर्मचारी नहुने भएकाले गाभिएपछि त्यो समस्या हट्ने उनले बताए । सामुदायिक विद्यालय गाभिएपछि विद्यार्थी बढ्ने तथा शिक्षक व्यवस्थापन र पूर्वाधार विकासमा सहज हुने जनाइएको छ ।

विद्यालय गाभिएपछि जुन विद्यालयमा गाभिएको हो सोही विद्यालयलाई सङ्घीय सरकारले रु २५ लाख अनुदान समेत उपलब्ध गराउने छ । उक्त अनुदानबाट यातायातको समस्या भएका क्षेत्रका विद्यार्थीका लागि आवश्यक गाडीको व्यवस्थापन गर्न सकिने, पूर्वाधार विकासमा सहज हुने र विद्यार्थीमैत्री शिक्षा दिन सहज हुने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्