डडेल्धुरामा चन्दा संकलन गरी पीसीआर मेसिन स्थापना, आजदेखि सञ्चालनमा



डडेलधुराः चन्दा संकलन गरी डडेल्धुरामा पीसीआर मेसिन स्थापना गरी सञ्चालन गरिएको छ ।

नागरिकस्तरबाट ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्वारा डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन आजदेखि सञ्चालनमा आएको हो ।

अहिले धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूनाहरुको पुनः परीक्षण भईरहेको डडेल्धुरा उपक्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझाले बताएका छन् ।

भोलिबाट प्रयोगशाला पूर्ण रुपमा सञ्चालन हुनेछ । उपक्षेत्रीय अस्पताल डडेल्धुराका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाडौंबाट गएका ईञ्जिनियरसहितको टोलीले पिसिआर मेसिनको गुणस्तर परीक्षण गरिहेका छ ।

यसअघि धनगढीमा परीक्षण गरिएका स्वावको पुनः परीक्षण पछि डडेल्धुरामा संकलित स्वाव परीक्षण गरिने र ती परिक्षण गरिएका स्वावको नमूनालाई धनगढीस्थित प्रयोगशालामा पुनः परीक्षण गरिने छ ।

मेसिनको गुणस्तर र क्षमता जाँच गर्न पहिलो चरणमा धनगढीमा परीक्षण गरिएका स्वावलाई पुनः परीक्षण गरिएको उनले बताए । पीसीआर मेसिन सञ्चालनमा आएकोमा उत्साही भएका ह्युमानिटी फाउण्डेसनका संस्थापक अध्यक्ष श्याम तायलले भने,‘आज हाम्रो एउटा मिसन पुरा भएको छ । यसले कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्नेछ ।’

पीसीआर मेसिनको अभावमा सुदूर पश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु कोरोानाको परीक्षणको अभावमा छटपटाइरहेका फाउण्डेसनले सुदूर पश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान शुरु गरेको थियो ।

३ साता अघि धनगढीबाट शुरु भएको सहयोग संकलन अभियान त्यसको केही दिनमै विश्वव्यापी भएको थियो । यो अभियानमा विश्वका विभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूर पश्चिम समाजहरुले साथ दिएका थिए । करीव ९६ लाख रुपैयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा ३ सय ८४ जनाको स्वावको नमूना परीक्षण गर्ने छ ।

मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउण्डेसनले व्यहोर्नेछ । विश्वभरीबाट यो अभियानमा जोडिएका सुदूर पश्चिमेली अगुवा र सुदूर पश्चिम समाजका अगुवाहरुले डडेल्धुरामा पीसीआर मेसिन सञ्चालनमा आएपछि खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्