जनकपुर तनावग्रस्त : ३ राउण्ड हवाई फायर र ३ सेल अश्रु ग्यास प्रहार, एक पक्राउ



जनकपुरधाम : मलर सदा, शम्भु सदा र राजु सदाको परिवारले न्याय पाउनुपर्ने माग गर्दै दलित समुदायले आज (बिहीबार) जनकपुरमा प्रदर्शन गरेका छन् । घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन भएको हो ।

प्रदेश २ को ८ वटै जिल्लाका गाउँगाउँबाट हजारौँको संख्यामा मानिसहरु स्वस्फूर्त रुपमा सहभागी भई मलर सदा, शम्भु सदा र राजु सदाको न्यायको लागि जनकपुरमा सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

हजारौंको संख्यामा उत्रेको प्रदर्शनकारीले उग्ररूप लिन थालेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर र ३ सेल अश्रु ग्यास प्रहार गरेको छ भने आन्दोलनका अगुवाको रूपमा रहेका पत्रकार बीपी साहलाई पक्राउ समेत गरेको छ । प्रहरीले जुलुस अगाडि नबढाउन चेतावनी दिएपनि जुलुसमा सहभागि भीडले प्रहरीको कुरा नमानेपछि झडपको स्थित सृजना भएको थियो ।

कोरोना महामारीको समयमा सप्तरीमा मलर सदा खान नपाएर भोकै मर्नु परेको थियो भने राजु सदाको प्रादेशिक अस्पताल जनकपुरस्थित आइसोलेसनमा उपचार अभावमा मृत्यु भएको थियो । त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नम्बर–१२ बरकुर्बा बस्ने २३ वर्षीय शम्भु सदाको शव जेठ २७ गते इलाका प्रहरी सबैला कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो । यी सबै मृत्यु राज्यको लापरवाहीका कारणले भएको आरोप लगाउँदै दलित संघर्ष समितिले नगर प्रदर्शन गर्दै प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालय समेत घेराउ गरेका थिए ।

दोषीलाई कारवाहीको माग गर्दै जनकपुरको संकट मोचन मन्दिर अगाडि जम्मा भएका दलित समुदायले निकालेको जुलुस ब्रह्मपुरी चोक, मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै मिल्स एरिया, भानु चोक, शिव चोक र जनक चोकमा पुगेर प्रदर्शन टुंग्याएको थियो ।

प्रदर्शनको क्रममा मिल्स एरीयामा प्रदर्शनकारीको भिडले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले ३ राउण्ड गोली फायर र ३ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । भिड अनियन्त्रित भएपछि हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्