संसदको अधिवेशन अन्त्यपछि कांग्रेसको प्रश्न- ‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?’



काठमाडौं– संघीय संसदको जारी अधिवेशन अन्त्य गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलसँग कुनै परामर्श र पूर्व सूचना नदिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? भन्दै प्रधानमन्त्रीसँग कांग्रेस प्रश्न गर्दै संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया रहेको तर त्यसलाई अवलम्बन नगरीएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ– ‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ । यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो।’

सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा रहेको तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै नभई आपत्तिजनक रहेको कांग्रेसको भनाई छ ।

‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ’– विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्