फुटको संघारमा नेकपाः कहिले बालुवाटार कहिले शितलनिवास



काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण भएर बनेको नेकपाको एकता प्रक्रिया नटुंगिदै फुटको संघारमा पुगेको हो ।

अहिले नेकपाको स्थायी कमिटी बैठक बिगत एक हप्तादेखी जारी छ । बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग उठाएका छन् । ओलीको राजिनामा संगै पार्टी एकतामा गम्भिर संकट पैदा भएको बिश्लेषण नेताहरुले गरिरहेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहित स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीले राजिनामा दिनुपर्ने माग गरेका छन् ।

ओली अहिले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी देखी संसदीय दलमा अल्पमतमा परेका छन् । दाहाल र नेपाल समुह मिल्दा ओली सबै तहका कमिटीहरुमा अल्पमतमा परेपछि त्यसको प्रभाव पार्टी एकताको अन्य काममा समेत परेको देखिन्छ ।

ओलीको राजिनामा माग संगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरु कहिले प्रधानमन्त्री निवास बालुवाटार, कहिले दाहाल निवास खुमलटार त कहिले राष्ट्रपति विद्यादेवी भण्डारीको शितलनिवास पुगेर समाधानका उपाय खोजिरहेका छन् । यधपी समाधानको उपाय अझै फेला परेको छैन् । तर पार्टी गम्भिर संकटमा फस्दै गएको स्वयम बैठकमा सहभागि नेताहरुले बताईरहेका छन् ।

ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजिनामा दिनै पर्ने दाहाल र नेपाल समुहको अडान र राजिनामा दिन नहुने ओली समुहको अडानले नेकपाको जारी स्थायी कमिटी बैठक समेत प्रभावित बनेको छ । बैठक चल्दै गर्दा बीच बीचमै रोक्ने र एकले अर्का प्रति आशंका गर्ने कारणले पार्टी फुटको संघारमा पुगेको स्थायी कमिटीका सदस्यहरु बीचमा खानेखुसी भईरहेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा गम्भिर संकट उत्पन्न भएको बताए । स्थायी कमिटीको बैठकले पार्टी एकतामा गम्भिर संकट पैदा गरेको निष्कर्ष निकालेको श्रेष्ठले बताए । पार्टीमा देखिएको संकट समाधान गर्ने भन्ने उदेश्यले स्थायी कमिटीको बैठक अब शनिबार बस्नेछ । त्यसयता अध्यक्षद्धय ओली र दाहालका साथै सचिवालयका नेताहरुका बीचमा छलफल गरेर समाधानको उपाय खोजिने श्रेष्ठले बताए ।

‘पार्टी एकतामा गम्भिर संकट देखा परेको छ’ श्रेष्ठले भने, ‘संकट समाधानका लागि अध्यक्षद्धयका साथै सचिवालय स्तरका नेताका बीच छलफल गर्ने उदेश्यले शनिबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।’

बैठककै बीचमा मन्त्रीपरिषद बैठक किन ?

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार स्थायी कमिटीको बैठक ११ बजे बोलाईएको थियो । तर प्रधानमन्त्री ओलीले बालुवाटारमै १२ बजे मन्त्रीपरिषद बोलाए । संघीय संसदको दुबै सदनको चालु अधिबेशन अन्त्य गर्ने सिफारिस राष्ट्रपतिलाई गर्ने निर्णय गर्यो । तर श्रेष्ठका अनुसार मन्त्रीपरिषद बैठक बस्ने र संसदको अधिबेशन अन्त्य नगर्ने सहमती अध्यक्षद्धयका बीचमा भएको थियो ।

मन्त्रीपरिषद बैठक बस्नु अघि बिहिबार नै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शितलनिवास पुगेका थिए । त्यसपछि मन्त्रीपरिषद बैठक बोलाएका थिए । तर यो भेटघाटले र मन्त्रीपरिषद निर्णयले ओली पार्टी फुटाउँन अध्यादेश ल्याएको भन्ने आशांका उत्पन्न गरायो ।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार पार्टी फुटाउँन अध्यादेश ल्याएको बिषयमा दाहालले ओलीसंग छुटै छलफल गरे । तर ओलीले त्यस्तो अध्यादेश नल्याउँने बताए पनि दाहाल बिश्वस्त भएनन् । सोही बीच जारी स्थायी कमिटी बैठक रोकेर दाहाल राष्ट्रपति भेटन शितलनिवास पुगेका थिए ।

अध्यक्ष दाहालले मन्त्रीपरिषद बैठक नबोलाउँन र जारी संसदको चालु अधिबेशन स्थगित नगर्न ओलीलाई सुझाव दिए । बस्नै पर्ने भए पार्टीमा छलफल गरेर गरौ भन्ने दाहालले भने पनि ओली उनको कुरा सुनेन् । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बैठक चल्दै गर्दा ओली स्थायी कमिटीको बैठकमा आएनन् । पार्टीको सल्लाह विपरित मन्त्रीपरिषद बैठक बोलाएपछि थप शंका बढयो ।

ओलीसंग दाहालले पार्टी फुटाउँन अध्यादेश ल्याउँन लागेको भन्ने प्रश्न गरे । तर ओलीले अहिले दुई तीन दिन नल्याउँने जवाफ दिए । त्यसपछि दाहाल सशंकित भए । अनि बीचमै बैठक केही बेरका लागि रोकेर उनी शितलनिवास पुगे ।
राष्ट्रपति भण्डारीलाई भेटन पुगेका दाहालले तटस्थ रहन सुझाव दिए । र सोधे के पार्टी फुटाउँन अध्यादेश आएको छ ? अनि भण्डारीले भनिन अहिले सम्म आएको छैन् । दाहालले यदी त्यस्तो आए कसैको पक्ष नलिई तटस्थ रुपमा बस्नुपर्ने सुझाव दिए । र फकिए पुनः बालुवाटार ।

राष्ट्रपति भण्डारीलाई भेटेर फर्किका दाहालले स्थगित बैठक फेरी सुचारु गराएर पार्टी फुटाउँने अध्यादेश ल्याइनसकेको बारेमा बैठकलाई जानकारी गराएको स्थायी कमिटीका एक सदस्यले बताए ।

खुमलटार विहानै किन पुगे ओली निकटका नेता ?
पार्टी र सकारको नेतृत्वबाट राजिनामा दिनुपर्ने माग उठेपछि बिहिबार बिहानै ओली निकटका नेताहरु पार्टीका अर्का अध्यक्ष दाहाललाई भेटन खुमलटार पुगेका थिए ।

अध्यक्ष दाहालले पार्टी र सरकार सञ्चालन लगायतका बिषयमा गम्भिर छलफल हुनुपर्ने बताएका उनीहरुसंगको भेटमा भनेका छन् । दुबै अध्यक्ष, सरकार लगायतका बिषयमा खुलेर छलफल हुनुपर्ने उनले बताए ।

दाहाल, नेपाल समुहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीले राजिनामा गर्नुपर्ने माग गरेपछि नेताहरुबीच भेटघाट, छलफल बाक्लो हुदै गएको छ ।

‘तपाईहरुले हामीबाट जे कमिकमजोरी भएको छ, त्यो सबै बिषय राख्नुहोला, छलफल गरौं’ दाहालको भनाई उद्धृत गर्दै छलफलमा सहभागि एक नेताले भने, ‘दुबै अध्यक्षका साथै सरकार र पार्टी सञ्चालन लगायतका सबै बिषयमा गम्भिर छलफल हुनुपर्छ ।’

पार्टी बैठक नबस्ने, पार्टीको निर्णय तथा सहमती कार्यान्वयन नहुने, विगतका सहमती तोडने काम पनि भएको बताउँदै उनले ति सबै बिषयमा छलफलको आवश्यकता रहेको आफ्नो निष्कर्ष सुनाए ।

नेकपा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल लगायतका नेताहरु दाहाललाई भेटन खुमलटार पुगेका हुन् ।

यता छलफलमा दाहाल सहित स्थायी कमिटी सदस्य एवं उर्जा मन्त्री बर्षमान पुन, स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, मातृका यादव, हरिबोल गजुरेल लगायतका नेताहरु सहभागि थिए ।

छलफलका क्रममा उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य पोखरेलले बिगतको सहमती कार्यान्वयन गर्दै अगाडी बढनुपर्ने बताए । ति सहमती कार्यान्वयनका क्रममा आफूहरुले समेत सहयोग गर्ने बताए ।

‘विगतको सहमती कार्यान्वयन गरौं, त्यसमा हामी पनि सहयोग गर्छौ’ पोखरेलले भने, ‘पार्टी एकता जोगाऔं, एकीकरणका बाँकी काम पनि टुंगो लगाऔं सहमती कार्यान्वयन गर्दै अगाडी बढन आवश्यक छ ।’

अहिलेको अवस्थामा पार्टीलाई फुटबाट जोगाउँनुपर्ने बताउँदै ओली निकटका नेताहरुले जनमत र पार्टी कार्यकर्ताको चाहना पुरा गर्नुपर्ने आग्रह गरेका छन् ।

अहिले पार्टी गम्भिर स्थितिमा पुगेको बताउँदै उनीहरुले पार्टी नै फुटेको अवस्थामा जनता र कार्यकर्तालाई के जवाफ दिने भन्दै यताउता गर्नु भनेको जनमत र पार्टी कार्यकर्ताको अपमान हुने बताए ।

पार्टी र सरकारको नेतृत्वबाट राजिनामा दिनुपर्ने माग उठेपछि ओली निकटका नेताहरु दाहाल निवास खुमलटार पुगेका हुन् ।

यसअघि बुधबार बिहान प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग बालुवाटारस्थित निवासमा तथा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरु झम्सीखेलको एक रेष्टुरेन्टमा छलफल गरेका थिए । ओलीले सरकार बचाउँन र दाहाल, नेपाल समुहले सरकार तथा पार्टी नेतृत्वबाट ओलीलाई हटानका लागि योजनाबद्ध छलफलमा जुटेका हुन् ।

दाहाल र नेपाल समुहको भेलामा सहभागि स्थायी समितिका ३१ सदस्यहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि स्थायी कमिटीका अरु सदस्यहरुसँग पनि छलफल गर्ने भन्दै नेताहरु फर्किएका थिए ।

नेकपा जारी स्थायी कमिटी बैठकमा पार्टी र सरकारको नेतृत्वबाट राजिनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानमन्त्री ओलीले आन्तरिक छलफल मार्फत नेतृत्व जोगाउँने कसरतमा जुटेका हुन् ।

सरकार ढाल्न पाईदैन भन्दै सडकमा जुलुश

नेकपा स्थायी कमिटीको बैठक चलिरहेको थियो । प्र्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने माग बैठकमा उठदै गर्दा उता माईतिघर मण्डलामा केही युवाहरुले सरकार ढाल्न पाईदैन भन्दै नाराजुलुश गरेका छन् ।

बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला पार्टी कार्यकर्ता समेत सहभागि युवाहरुले सरकार ढाल्न पाईदैन, बैदेशिक हस्तक्षेप चाहिदैन भन्दै नाराजुलुश गरे ।

प्रधानमन्त्री ओलीको फोटो सहित उनीहरुले ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथी’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका छन् । उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’,‘वैदेशिक हस्तक्षेप चाहिदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्