बिना धितो कर्जाको व्यवस्था मिलाउन माग



काठमाडौं : राष्ट्रिय व्यापार सङ्घले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेका हुन् ।

“मौद्रिक नीति व्यवसायीमैत्री हुनुपर्छ, कोरोनाले थला परेको व्यवसायलाई सम्बोधन गर्ने खालको नीति आउनुपर्छ”, महासचिव दाहालले भने । कोरोनाले थलिएका व्यापारीलाई मौद्रिक नीतिले उठाउने अपेक्षासमेत व्यवसायीले लिएका छन् । सङ्घले बन्दाबन्दीको समयको बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न तथा किस्ताको समय थप गर्नुपर्ने बताएको छ ।

व्यवसायीलाई सरकारले पुर्नकर्जाको व्यवस्था मिलाउनको साथै सरल र बिना झण्झट कर्जाको व्यवस्था गर्न सङ्घले आग्रहसमेत गरेको छ । विसं २०६१ मा स्थापना भएको सङ्घले व्यवसायीको हकहितका लागि काम गर्दै आएको छ । उक्त सङ्घमा एक हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । रासस

प्रतिक्रिया दिनुहोस्