कैलालीको पूर्वी क्षेत्रमा भारी वर्षा, २३ घर डुवानमा



धनगढीः कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा पसेर डुबान भएको हो ।

बिहीबार राति भारी वर्षा भएपछि नदी र खोलाहरूमा बाढी आएको छ । वर्षाका कारण भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार काँढा नदीमा बाढी आउँदा जोशीपुर गाउँपालिका–३ राजीपुर र वडा नं.४ फरिया गाउँमा गरी करिब २० घर डुबानमा परेको छ । घरमा दुई फिटमाथिसम्म पानी पुगेको जनाइएको छ ।

यसैगरी, फरियास्थित हिरालाल चौधरीको घरमा पानी पस्दा कच्ची घर भत्केको विष्टले जानकारी दिए । उनले भने, ‘घरका सबै सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ, घरबाहेक अरु क्षति भएको छैन ।’

यसै गरी, बर्दगोरिया गाउँपालिका-६ स्थित बासकोटी,घैला खोलामा बाढी आउँदा खोला किनारमा रहेको करिब १६ घर डुबानमा परेको छ । बाढीले एउटा गोरु र स्थानीयले पोखरीमा पालेको माछा बगाएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

यस्तै, घोडाघोडी नगरपालिका-२ टनकपुरमा लक्ष्मी न्यौपानेको घर पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भजनी नगरपालिका-१ र ३ वडामा पनि केही घर डुबानमा परेका छन् । डुबानमा परेका घरको विवरण संकलन गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज जनक धामीले बताए ।

उनले भने,‘यी वडाहरूमा पहिलेदेखि डुबान भइरहन्छ, घर डुबेपनि ठूलो समस्या भएको छैन । प्रहरीको टोली त्यसतर्फ खटेको छ ।’ राति भएको वर्षाका कारण जिल्लाको पूर्वी क्षेत्रमा रहेको काँढा, कान्द्रा, पथरैयालगायत नदीमा बाढी आएको जनाइएको छ । भजनी नगरपालिकाको केही भूभाग जलमग्न भएको वडा नं.१ का स्थानीय गङ्गाराम चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्