नेकपा विवाद : शून्य समयमा शून्य प्रगति



काठमाडौं : सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन विभिन्नस्तरमा प्रयासहरू भइरहेका छन् । दोस्रो पुस्ताका नेताहरूले दबाब समूह बनाएका छन् भने स्वयं दुई अध्यक्ष पनि वार्तामा छन् । तर, ओलीलाई दुवै पद छाड्न लगाउने प्रचण्ड–नेपाल समूहको माग र कुनै पनि हालतमा कुनै पनि पद नछाड्ने ओलीको ‘बटमलाइन’बीच नेकपा शंक्तिसंघर्ष झन् जटिल भएको छ । यही गतिरोधबीच शनिबार स्थायी कमिटी बैठक बस्दै छ । 

ओली–प्रचण्डको शुक्रबारको संवादपछि नेकपाको शक्तिसंघर्ष थप जटिल बनेको छ । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागे पार्टी विभाजन हुने चेतावनी दिएका छन् । पार्टीको विभाजन अब औपचारिकता मात्र रहेको भन्दै ओलीले यसको जिम्मेवार नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल रहेको ठहर पनि सुनाएका छन् । 

विभाजन रोक्न भन्दै स्थगित भएको नेकपा स्थायी कमिटीको जारी बैठक शनिबार बस्ने तयारी छ । बैठकअघि दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भेट भएको थियो । भेटको विषयवस्तुबारे प्रचण्डले शुक्रबार साँझ नै सचिवालयका सदस्यहरू वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई ब्रिफिङ गरेका छन् । ‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन भइसकेको निष्कर्ष सुनाउनुभयो र यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल जिम्मेवार रहेको आरोप पनि लगाउनुभयो,’ प्रचण्डले सचिवालयका नेताहरूलाई सुनाए । 

दुई अध्यक्षको सहमतिविपरीत प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको कदम चालेको भन्दै बिहीबारको स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टी विभाजनउन्मुख भएको बताएका थिए । तर, एकता बचाउन अन्तिम कोसिस गर्ने भन्दै उनले बैठक स्थगित गरेका थिए । शुक्रबार ओली र प्रचण्डबीच भेट हुँदा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि थिए । पार्टी एकताका लागि २ जेठ ०७५ मा भएको पाँचबुँदे सहमतिमा ओली र प्रचण्डबाहेक पौडेल र शर्मा हस्ताक्षरकर्ता हुन् । 

शुक्रबारको भेटमा प्रचण्डको भनाइ थियो, ‘तपाईंले पार्टी निर्णय मान्दिनँ भन्नुभयो । अनायास संसद् अधिवेशन अन्त्य गर्नुभयो, यहीवेला अध्यादेश ल्याउने कोसिस हुँदै छ । पुरानो पार्टी ब्युँताउन नयाँ दल पनि दर्ता गराइसक्नुभयो । यस अर्थमा तपाईंले पार्टी फुटाइसक्नुभएको छ । तैपनि एकता बचाउन वार्ता गर्न आएको छु ।’

ओलीको जवाफ थियो, ‘तपाईंले पार्टी विभाजन भयो भन्दै हिँड्नुभएको छ, त्यो कुरा सही हो, पार्टी विभाजन त भइसक्यो नि ! भिन्दै बैठक गर्नुहुन्छ, गुटका निर्णयलाई पार्टीको निर्णय भन्नुहुन्छ । अब तपाईंहरू बैठक बस्नुस्, मलाई निकाल्ने हो कि के गर्ने हो त्यो पनि गर्नुस् । त्यसपछि आ–आफ्नो बाटो लागौँला ।’

सहमतिको प्रयासस्वरूप शुक्रबार ओली र प्रचण्डबीच तीन घन्टा लामो छलफल भएको थियो । तर, भेट सहमतितर्फभन्दा पनि आरोप–प्रत्यारोपतर्फ केन्द्रित भएको थियो । प्रचण्डले सचिवालयमा गराएको जानकारीअनुसार ओलीले भनेका थिए, ‘पार्टी एकता बचाउने अब एउटा मात्र उपाय छ । तपाईंले माधव नेपाललाई छाडेर आउनुस् । त्यसपछि एकता बच्छ, नत्र सम्भव छैन ।’ 

शुक्रबारको ओली–प्रचण्डबीचको छलफलमा सहभागी नेता जनार्दन शर्माले भने खुलस्त छलफल भएको बताए । उनले भने, ‘खुला छलफल भयो । विषयवस्तुमा ठोस सहमति भएको छैन । फेरि अर्को बैठक बस्ने गरी उठेका छौँ ।’ 

छलफलमा पार्टी सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेको भन्दै प्रचण्डले मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । सचिवालयका एक सदस्यका अनुसार जवाफमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘म प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्दिनँ, अरू केही प्रस्ताव छन् भने छलफल गरौँ, त्यसका लागि तयार नै छु ।’ त्यसपछि छलफल कुनै ठोेस सहमतिविना टुंगिएको थियो । तर, शनिबार फेरि बसौँला भन्दै नेताहरू उठेका थिए । 

शनिबार बस्ने स्थायी कमिटीको बैठकभन्दा एक घन्टाअगाडि बालुवाटार आएर छलफल गर्ने भन्दै प्रचण्ड हिँडेका थिए । प्रचण्डले ‘पार्टी निर्णय स्वीकार गर्नुस्, छलफल पनि गर्दै जाऊँ’ भनेका थिए । ओलीको जवाफ थियो, ‘ठिकै छ बसौँला । ठन्डा दिमागले सोचेर आउनुहोला, छलफल गरौँला ।’ शनिबार ११ बजे नेकपाको स्थायी कमिटी बैठक छ । त्यसअगाडिको वार्तामा ठोस सहमति नभए बहुमतका आधारमा निर्णय गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ । 

छलफलमा प्रचण्डले एक व्यक्ति : एक जिम्मेवारीको नीति कार्यान्वयन गर्दै पार्टी एकता सुदृढ गर्नका लागि प्रधानमन्त्रीले त्याग गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री यो विषयमा प्रवेश नै गर्न मानेका थिएनन् । छलफल सकारात्मक नभएपछि प्रचण्डले बालुवाटारबाट फर्किएलगत्तै खुमलटारस्थित निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित सचिवालयका नेताहरूलाई बोलाएर ‘ब्रिफिङ’ सुनाउँदै सुझाब लिएका थिए । 

‘म प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्ने पक्षमा छैन, यदि पार्टी एकता कायम गर्ने हो भने तपाईंले माधव नेपाल र ममध्ये एउटा विकल्प छान्नुस्, मेरो टिममा आउने कि माधव नेपालको टिममा जाने रोजाइ तपाईंको हो,’ खुमलटारमा नेताहरूलाई प्रचण्डले गरेको ब्रिफिङ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘तपाईंले एकताका लागि एउटा टिम रोज्नुस्, अध्यक्ष र प्रधानमन्त्री छाड्ने कुरै नगर्नुस्, बाँकी अरू विषयमा छलफल गरेर सहमति गर्न सकिन्छ भनेपछि छलफल सकारात्मक नभएको जानकारी गराउनुभयो ।’ 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टी एकतामा देखिएको गम्भीर संकट समाधानका लागि सहमति जुटाउने उद्देश्यले दुई अध्यक्षबीच बालुवाटारमा छलफल भए पनि सकारात्मक निष्कर्षमा नपुगेको बताए । 

‘शुक्रबार दिनभर सहमतिको विकल्पमा केन्द्रित रहेर गृहकार्य गर्न बैठक स्थगित गरिएको थियो, तर उहाँहरू (दुई अध्यक्ष)बीचको छलफल सकारात्मक निष्कर्षमा पुग्न सकेको छैन,’ श्रेष्ठले भने, ‘शनिबार बैठकअघि पनि उहाँहरूले सहमतिका लागि अन्तिम प्रयास गर्नुहुनेछ ।’

खुमलटारको निष्कर्ष : शनिबार पनि सहमति नजुटे बैठक सञ्चालन 

बालुवाटार छलफलमा ओली सकारात्मक नबनेपछि खुमलटारको छलफलले सचिवालयका बहुमत नेताहरूले शनिबार बिहान पनि एक व्यक्ति : एक जिम्मेवारीको नीति माथिदेखि तलैसम्म कार्यान्वयनका लागि सहमति नभए ११ बजे डाकिएको बैठक अगाडि बढाउने निष्कर्ष निकालेको छ । 

‘शनिबार बिहान एकपटक प्रचण्डले भेटेर स्थायी कमिटीको बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा अध्यक्ष ओलीसँग संवाद गर्नुहुनेछ । त्यसपछि हामी अगाडि बढ्छौँ । पार्टीले जे निर्णय गर्छ, त्यसलाई पालना गर्नुपर्छ भन्ने हाम्रो छलफलको निष्कर्ष हो,’ खुमलटार छलफलपछि वरिष्ठ नेता झलनाथ खनालले भने, ‘शनिबार पनि सहमति भएन भने स्थायी कमिटी बैठकले आफ्नो कोर्स लिन्छ । कहीँकतै कन्फ्युजन छैन । हामी ६ जना सचिवालयका नेताहरू आफ्ना मान्यतामा दृढ छौँ ।’

उनले पार्टीको नीति र विधिभित्र रहेर अधिकतम कोसिस गर्दा पनि ओली सहमतिमा नआए थप प्रयत्न नगर्नेसमेत स्पष्ट पारे । ‘हामी एकताको पक्षमा छौँ, तर उहाँले फुटाउने नै चाहना राख्नुभएको छ भने त के गर्नु ? हामीले मात्र अंकमाल गर्न खोजेर त हुँदैन । अधिकतम नीतिगत रूपमा सम्झाउने हो, पार्टीले डिसिजन गर्ने हो, अघि बढ्ने हो,’ खनालले भने । 

वामदेवलाई मनाउने कोसिसमा बालुवाटार

प्रधानमन्त्री केपी ओलीबाट निरन्तर धोका पाएको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनमा लागेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई फकाउन बालुवाटारले फेरि कोसिस गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बालुवाटार छलफलपछि महासचिव विष्णु पौडेलले गौतमलाई उनकै निवास भैँसेपाटी गएर भेटेका थिए । शुक्रबार साँझ पनि ओली समूहका अन्य नेता गौतमनिवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई सहयोग गरेर अघि बढ्दा नै सही राजनीतिक निर्णय हुने भन्दै मनाउने कोसिस भइरहेको स्रोतले जनाएको छ । गत ४ असारमा अध्यक्ष प्रचण्डसँगको भेटपछि गौतमले स्वकीय सचिवालयमार्फत विज्ञप्ति जारी गरेर राजनीतिक मुद्दामा आफू प्रचण्ड र नेपालको साथमा रहेको स्पष्ट पारेका थिए ।

प्रेस नोटमा भनिएको थियो, ‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिटै सामूहिक प्रतिक्रिया आउँदै छ । वामदेवलाई पनि त्यहीँ भेटिँदै छ ।’

यसअघि वैशाख तेस्रो साता सचिवालयमा गौतमसहितका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । तर, अचानक प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि गौतम पछाडि हटेका थिए ।

दोस्रो पुस्ताका नेताको सक्रियता : मन्त्रीनिवासमा भेला, धुम्बाराहीमा धर्ना
दुवै समूहका दोस्रो तहका नेताको निष्कर्ष : नयाँ सहमतिका लागि दबाब दिन पार्टीमा हस्तक्षेपकारी भूमिका

पार्टी एकता जोगाउन दोस्रो पुस्ताका युवा नेताहरू सक्रिय भएका छन् । दुवै समूहका युवा नेताहरूले स्वतन्त्र र हस्तक्षेपकारी भूमिका खेल्ने सहमति पनि गरेका छन् । 

कृषिमन्त्री घनश्याम भुसालको निवास पुल्चोकमा शुक्रबार बिहान ८ बजे भेला भएका ११ नेताले करिब डेढ घन्टा छलफल गरेका थिए । उनीहरूले पार्टी एकीकरण गर्दा २ जेठ ०७५ मा भएको पाँचबुँदे सहमति र ४ मंसिर ०७६ मा अध्यक्षद्वय ओली र प्रचण्डबीचको जिम्मेवारी बाँडफाँडको सहमतिको जगमा उभिएर नयाँ सहमति गर्नुपर्नेे निष्कर्ष निकालेका छन् । 

पार्टी एकीकरण गर्दा पाँचबुँदे सहमतिको चौथो बुँदामा दुवै अध्यक्षले साढे दुई वर्षमा सरकारमा आलोपालो नेतृत्व गर्ने उल्लेख भए पनि उनीहरूले ४ मंसिरमा नयाँ सहमति गरेका थिए । नयाँ सहमतिअनुसार ओली सरकार र प्रचण्ड पार्टी काममा केन्द्रित हुने गरी जिम्मेवारी बाँडफाँड भएको थियो ।

‘पार्टी एकता गर्ने वेलाको सैद्धान्तिक आधारमा टेकेर एकीकरणपछिका आरोह–अवरोहहरूको समीक्षासहित एकताको सैद्धान्तिक आधारबाट दायाँ–बायाँ भड्किनुहुँदैन भन्ने निष्कर्षसहित मुख्य नेता (ओली र प्रचण्ड)लाई अनुरोध गर्ने निर्णय भएको हो,’ बैठकको निष्कर्ष सुनाउँदै नेता मणि थापाले नयाँ पत्रिकासँग भने, ‘पार्टी एकताको आधारभूत सिद्धान्तबाट बाहिर नजाने हो भने कसले कुन पद छाड्ने या कसले कुन पद पाउने भन्ने होइन, पहिलेको सहमतिकै जगमा नयाँ सहमति गर्दा पार्टी एकता बचाएर लान सकिन्छ भन्ने हाम्रो भनाइ हो ।’ 

छलफलमा भुसालसहित नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल, मणि थापा र टोपबहादुर रायमाझीलगायत सहभागी थिए । 

पार्टी शीर्ष नेताहरू आ–आफ्ना अडानमा रहेकाले नेकपा विभाजनको संघारमा छ । प्रचण्ड–नेपाल समूहले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद त्याग्नुपर्ने र ओलीले दुवै पद नछाड्ने ‘बटमलाइन’ बनाएका छन् । यस्तोमा एकताको आधार भत्किएर पार्टी फुट्ने निष्कर्ष निकाल्दै दोस्रो तहका नेताहरूले पार्टी एकताका लागि दबाब दिन अबका बैठकमा गुटबाट माथि उठेर स्वतन्त्र हैसियतका साथ संगठित रूपमै प्रस्तुत हुने सहमति पनि गरेको बताएका छन् । 

संगठित रूपमा प्रस्तुत हुँदा कसैले पनि प्रश्न गर्न नसक्ने उनीहरूको भनाइ छ । अबका बैठकमा ओली, प्रचण्ड या नेपाल समूहभन्दा माथि उठेर पार्टी जोगाउन देश, जनता र आमनेता–कार्यकर्ताको अपेक्षा र भावनाअनुसार भूमिका निर्वाह गर्ने गरी प्रस्तुत हुने उनीहरूको भनाइ छ ।

भेलामा दुई अध्यक्षको सम्भावित मिलनबिन्दुको विषयमा समेत चर्चा भएको थियो । त्यसका लागि २ जेठको सहमतिअनुसार आलोपालो प्रधानमन्त्री चलाउने सहमति कार्यान्वयन गर्ने अथवा ४ मंसिरको सहमतिअनुसार ओलीलाई सरकार सञ्चालन र प्रचण्डलाई पार्टी सञ्चालनको पूर्ण अधिकार कार्यान्वयन गर्दै नयाँ सहमति हुन सक्ने विकल्पमा पनि सामान्य चर्चा भएको एक नेताले बताए । 

त्यसरी अघि बढ्दा वरिष्ठ नेता माधवकुमार नेपालको भूमिकालाई पनि सम्मानजनक व्यवस्थापन गर्ने तथा सरकार सञ्चालनमा सचिवालय वा स्थायी समितिको नियन्त्रण हुने गरी नयाँ विधि बनाएर जान सकिनेबारेमा समेत दोस्रो पुस्ताका नेताहरूबीच कुराकानी भएको थियो । 

बैठकको संयोजन गरेका भुसालले निरन्तर प्रयास गरे सबैलाई स्वीकार्य हुने निष्कर्षमा पुग्ने सकिने बताए । ‘हामीले एकताका आधारहरूमा केन्द्रित रहेर मोटो कुरा गरेका छौँ । औपचारिक रूपले भएका २ जेठ ०७५ र ४ मंसिर ०७६ को सहमतिको आधारमा टेकेर फराकिलो एकताका लागि प्रयास जारी राख्ने र नयाँ सहमतिका आधारमा पार्टीलाई एकता बनाउने निष्कर्ष निकालिएको छ,’ उनले भने । 

एकताको नयाँ आधार खोज्दा अहिले उठिरहेका विषय पनि सम्बोधन हुने उनको भनाइ छ । ‘पार्टीलाई एउटा विधिमा लैजानैपर्छ, त्यो विधि नै नयाँ एकताको आधार हुनेछ । त्यसअन्तर्गत अहिले उठेका एक पद वा दुई पद सबै पर्नेछन् । कुनै हालतमा पार्टी विभाजन हुन दिन्नौँ,’ उनले भने । दुई अध्यक्षको भेटपछि निरन्तर छलफल अघि बढ्ने पनि उनले बताए । 

बैठकमा ओलीनिकट नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमालले पनि पार्टी र सरकार सञ्चालनका क्रममा प्रधानमन्त्रीबाट कमजोरी भएको स्वीकार गरेका थिए । विशेषगरी दुई अध्यक्षबीचको सहमति कार्यान्वयन गर्ने वातावरण निर्माण नहुनु, वरिष्ठ नेता नेपालसँग पनि पर्याप्त परामर्श नहुनुजस्ता विषयमा कमजोरी हुँदा त्यसले एकपछि अर्को विवादको रूप लिँदै गएको उनीहरूको भनाइ थियो ।

त्यसो त नेता ज्ञवालीले मदनजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कूटनीतिक सम्बन्धमै आँच पुग्ने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्तिमा कमजोरी रहेको बताउँदै आएका छन् । ‘पार्टी र सरकार सञ्चालनका क्रममा कमजोरी भएकै छ । समन्वय नहुँदा कुनै शीर्ष नेताले ‘आइसोलेटेड फिल’ गर्ने र त्यसले समस्यामाथि समस्या पैदा गर्दै जाने स्थिति छ,’ ओलीनिकट नेताहरूको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सहकार्यमा कमी हुने कुरा कतिपय व्यक्तिगत स्वभाव र शैली तथा सोच्ने तरिकाको ग्यापले पनि भएको हो भन्ने नै उहाँहरूले सकारात्मक कोणबाट कमजोरी स्वीकार गर्ने कुरा धेरै राम्रो पक्ष हो, त्यस्ता कुरालाई त महसुस गरेर क्रमशः सुधार गरेर लान पनि सकिन्छ ।’

तर, प्रधानमन्त्रीलाई बलात् हटाउन खोज्दा समस्या भड्किनु स्वाभाविक भएको ओली पक्षका नेताहरूको भनाइ थियो । ‘बलात् हटाउन खोज्दा त्यसको प्रतिवाद हुने कुरा स्वाभाविकै छ, त्यसले सकारात्मक सन्देश पनि जाँदैन र पार्टी एकता पनि टुट्ने खतरा हुन्छ, त्यसैले अहिलेको विवादलाई कुशलतापूर्वक अवतरण गर्नुपर्छ, मलाई जबर्जस्ती ङ्याकियो भन्ने हिसाबले जानुहुँदैन,’ एक नेताले भने । 

केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरूको धर्ना 

पार्टीभित्रको अन्तद्र्वन्द्व विधि, प्रक्रिया र प्रणालीभित्र रहेर बैठकबाटै समाधान गरेर पार्टी एकता जोगाउन दबाब दिँदै करिब एक दर्जन केन्द्रीय सदस्यसहित अगुवा कार्यकर्ताले शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा तीन घन्टा धर्ना दिएका छन् ।

शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म भएको धर्नालाई एकता जोगाउने दबाबकै रूपमा शनिबारबाटै देशव्यापी बनाइने केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए । धर्नामा खतिवडासहित डा. विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री, दिलुकुमारी पन्त, हिमाल शर्मा, प्रेमल खनाललगायत केन्द्रीय सदस्यसहित तीन दर्जन नेता–कार्यकर्ता सहभागी थिए । 

धर्नामा बसेकाले पार्टीभित्र चर्किएको अन्तद्र्वन्द्व बैठक र छलफलबाटै समाधान गर्नुपर्ने, पार्टीको विधि र प्रक्रियाबाट समाधान निकाल्नुपर्नेलगायत प्लेकार्ड बोकेका थिए । केन्द्रीय सदस्य खतिवडाले पार्टीभित्र बढेको विवाद पार्टीभित्रै खुलस्त छलफल गरी विधि र प्रक्रियाअनुसार समाधानमा जानुपर्ने माग गरे । अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी एकता घोषणापछि जनताले दिएको दुईतिहाइ मतको ‘म्यान्डेट’अनुसार पार्टी एकता जोगाउन शीर्ष नेतृत्वले त्याग देखाउनुपर्ने बताए । उनले विधि र प्रक्रियासम्मत ढंगले नै समाधान खोज्नुपर्नेमा जोड दिए ।

रावलसहितका नेतासँग नेपालको परामर्श 

यसैबीच वरिष्ठ नेता माधवकुमार नेपालले नेताहरू भीमबहादुर रावल, रघुजी पन्तलगायत नेतासँग छलफल गरेका छन् । त्यस्तै, प्रचण्ड र नेपालबीच टेलिफोन संवाद भएको उनीनिकट स्रोतले जनाएको छ । बिहीबारको स्थायी कमिटी बैठकले पार्टी एकता गम्भीर संकटमा पुगेकाले एकता जोगाउन शुक्रबार दिनभर औपचारिक, अनौपचारिक गृहकार्य गर्ने निर्णय गरेको थियो । त्यसअनुसार नै सचिवालय र स्थायी कमिटीका नेताहरू भेटघाट र कुराकानीमा सक्रिय छन् ।

ओली समर्थक सडकमा

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षामा उनका समर्थक सडकमा उत्रिएका छन् । उनीहरूले काठमाडौंसहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् । 

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन भएको छ । स्वतन्त्र नागरिकका नाममा भएको प्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । यसबाहेक भरतपुरको चौबिसकोठीमा सरकार परिवर्तन गर्न नहुने भन्दै प्रदर्शन भएको छ । नेकपानिकट युवा तथा विद्यार्थीले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका हुन् ।

उता सुर्खेतमा पनि प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन भएको छ । उनीहरूले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए । अनेरास्ववियु जिल्ला संयोजक भूपेन्द्र शाहीले देश कोरोना महामारीको संक्रमणविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने बताए ।नयाँ पत्रिका दैनिकमा शुरोजङ्ग पाण्डेले लेखेका छन् ।
 
 

प्रतिक्रिया दिनुहोस्