पाकिस्तानका विदेश मन्त्री कुरैशीमा कोरोना संक्रमण



पाकिस्तान : पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीमा कोरोनाभाइर (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन् । संक्रमण पुष्टि भएलगत्तै आफू घरमै क्वारेन्टाइनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘मलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’

घरबाटै काम गर्ने बताएका उनले सर्वसाधारणसँग आफ्ना लागि प्रार्थना गर्न आग्रह पनि गरेका छन् ।

पाकिस्तानमा दुई लाख २३ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म कोरोनाका कारण पाकिस्तानमा ४५ सयभन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्