बझाङमा पहिरो जाँदा १७ घर पुरियो, सिंगो वस्ती नै जोखिममा



बझाङ : बझाङमा शनिबार बिहान पहिरो जाँदा १७ घर पुरिएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । तर, यसबारे एकिन विवरण आउन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइनसकेको बताए ।

उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

यता जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले पनि प्रहरीहरु घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको बताए ।

‘पहिरोले बाटो पनि बगाएको छ भने खोलामा बाढी आएको छ । त्यसैले हाम्रो टोली पहिरो गएको भनिएको स्थानसम्म पुग्न सकेको छैन र क्षतिको विवरण पनि प्राप्त भएको छैन ।’ डीएसपी बमले भने ।

स्थानीयवासीका अनुसार अविरल वर्षासँगै आएको पहिरोले १७ घर बनाएको र ७ जना बेपत्ता भएको छ ।

यता केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिंगो वस्ती नै पहिरोको चपेटामा परेको बताए ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्