गोठालो गएकी बालिकाको शव अर्ध–नग्न अवस्थामा फेला



जनकपुर : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । भैंसी चराउन गएकी बालिकाको शव तीनदिनपछि आँप बगैँचानजिकै नदीको डिलमा अर्ध–नग्न अवस्थामा शुक्रबार फेला परेपछि बलात्कारपछि हत्या भएको आशंका गरिएको हो ।

जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पञ्जियार शुक्रबार मृत फेला परेकी हुन् । हराएको तेस्रो दिन रोपाहारहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीका अनुसार आँप बगैँचानजिकै नदीको डिलमा अर्ध–नग्न अवस्थामा बालिकाको शव भेटिएको हो ।

शुक्रबार मध्याह्न बस्तीभन्दा एक किलोमिटर पर दूधमती नदीमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै केही भन्न सकिने डीएसपी कार्कीले बताए । शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।

बुधबार बिहान ११ बजे भैंसी चराउन गएकी कञ्चन अबेर रातिसम्म घर नआएपछि खोजी सुरु भएको थियो । तरकारीको व्यापार गर्ने आमा संगीता बुधबार कुर्थामा लाग्ने हाटबजारका लागि तरकारी किन्न जेठो छोरा राजुलाई लिएर ढल्के गएकी थिइन् ।

बाबु विनोद पञ्जियार कान्छो छोरा रोशनलाई लिएर धान रोप्न गएका थिए । घरमा एक्लै रहेकी कञ्चन भैंसी चराउन गएकी थिइन् । छोरीका लागि खाना लिएर आमा दिउँसो आँप बगैंचा पुग्दा नभेटेपछि नजिकै आँप बेच्दै गरेकी एक महिलालाई दिँदै ‘छोरीलाई दिनू’ भन्दै फर्केकी थिइन् । साँझ बजारबाट फर्केर आउँदा पनि घरमा छोरी नआएपछि गाउँमा भोज खान गएको हुन सक्ने भनेर केहीबेर खोजी नगरेको आमा संगीताले बताइन् । यसै वर्ष २ कक्षा उक्लिएकी कञ्चन मृत अवस्थामा फेला परेपछि गाउँ शोकमा छ ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्