नेकपा स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णायक स्थायी कमिटी बैठक आज (शनिबार) बिहान ११ बजे बस्दैछ ।

नेकपामा देखिएको संकट समाधानका लागि नेताहरु लागिपरे पनि अहिलेसम्म त्यसमा ठोस उपलब्धी हाँसिल नभएको परिवेशमा आज पुनः स्थायी कमिटि बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने पर्ने मागमा अडिग रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्ष तथा दुवै पद नछोड्ने ओलीको अडानका कारण नेकपा लगभग ‘फुट’ को संघारमा पुगेको छ ।

शुक्रबार तीन घण्टासम्म बालुवाटारमा चलेको दुई अध्यक्षबीचको छलफलमा ओली आफ्नो अडानबाट टसमस भएका छैनन् ।

ओली आफ्नो अडानबाट पछि नहटेपछि प्रचण्ड जेठ २ को सहमितबाट निकास निकाल्न सकिने संकेत गरेका छन् । तर, ओली मंसिर ४ को सहमतिभन्दा पछि हट्न नसक्ने जनाएका छन् ।

जेठ २ को समझदारी भनेको ओली र प्रचण्डले अढाइ–अढाइ वर्ष आलोपालो प्रधानमन्त्री चलाउने भन्ने हो । त्यो समझदारीलाई मान्ने हो भने ओलीले आगामी मंसिरमा प्रधानमन्त्री पद प्रचण्डलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर, ओली त्यसो गर्न तयार भएका छैनन् । मंसिर ४ को सहमति भनेको पाँचै वर्ष ओलीले प्रधानमन्त्री चलाउने र प्रचण्डले कार्यकारी अध्यक्ष चलाउने भन्ने हो ।

यसो गर्दा ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा निरन्तर कायम रहनु हुनेछ । ओलीको यही अडान कायम रहँदा पार्टी नेताहरुलाई कन्भिन्स गर्न नसकिने र स्थायी कमिटीको बैठकले उनलाई तत्कालै राजीनामा गर्न निर्देशन दिने अवस्था आउन सक्ने बालुवाटारको छलफलमा प्रचण्डले ओलीलाई बताएका थिए ।

मंसिर ४ को सहमतिमा टेकेर छलफल अघि बढाउँदा मिलन विन्दु भेटिन सक्ने दुबै पक्षको विश्वास छ । आज स्थायी कमिटी बैठक बस्नु उक्त सहमतिको थप व्याख्या र नयाँ सहमति खोज्न सकिने उपायका बारेमा ओली र प्रचण्डबीच छलफल हुनेछ ।

यसैबीच पार्टिका दोस्रो तहका नेताहरुले पनि एकता बचाउनका लागि स्वतन्त्र र हस्तक्षेपकारी भुमिका बढाएका छन् । स्थायी कमिटीका ११ जना सदस्यले पार्टी अध्यक्षद्वयलाई एकता कायम गर्न विभिन्न विकल्पसहित दवाव बढाएका हुन् ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्