कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना पुष्टि



काठमाडौं : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट कान्ति बाल अस्पताल ल्याइएको थियो । कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले संक्रमित शिशुको अवस्था सामान्य रहेको जानकारी दिए ।

शिशुमा रगतको कमी, ज्वरो आउने लगायतका समस्या भएर शंकास्पद बिरामी भनेर आइसोलेसनमा राखिएको अस्पतालका निर्देशक डाक्टर पौडेलले जानकारी दिए ।

उनले भने, ‘सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरयौँ । त्यसको रिपोर्ट पोजेटिभ आयो ।’

अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड र टिम बनाएकाले संक्रमण देखिए पनि अस्पताल सूचारु रहेको डाक्टर पौडेलले बताए ।

यसैगरी आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्