बझाङ पहिरो अपडेट : उद्धारमा हिँडेको सेनाको गाडी दुर्घटना



बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ ।

घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए । दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।

शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन् ।

वडा अध्यक्ष गणेशबहादुर बोहोराले ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको दिनेश खबरलाई जानकारी दिए । पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा, १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन ।उनीहरुको खोजी कार्य जारी राखिएको वडा अध्यक्ष बोहोराले बताए ।

वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको उनले बताए ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्