धान रोप्ने क्रममा खोकनावासी र प्रहरीबीच झडप, चार जना घाइते



काठमाडौं : ललितपुरको खोकनामा स्थानीयवासी र प्रहरीबीच शनिबार दिउँसो झडपा भएको छ । झडपमा ४ जना प्रहरी घाइते भएका छन् ।

सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि दुई पक्षबी झडप भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।

सुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् । यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्