हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्दै राष्ट्रवादीद्वारा जनकपुरमा विरोध प्रदर्शन



जनकपुरधामः नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले आज (शनिबार) जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

स्थानीय जनकचोकमा जम्मा भएका सयौं व्यक्तिहरु नेपालको राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेको हो । जनकचोकबाट सुरु भएको प्रदर्शन नगरको बिभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा गई कोणसभामा परिणत भएको थियो । राष्ट्रियसभाका पूर्व सदस्य कारी यादवको अगुवाईमा निकालिएको रयालीमा युवा,महिला र साधु सन्तहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

देश नेताहरुको कारण नै बर्बाद भईरहेकोले लाखौं हिन्दुहरुको आस्थाको केन्द्र नेपालमा हिन्दू राष्ट्र कायम गर्नुको विकल्प नरहेको राष्ट्रियसभाका पूर्व सदस्य यादवले बताए । यादवका अनुसार देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु अपरिहार्य रहेकोले आफूहरुले यो अभियान सञ्चालन गरेको बताए ।

नेपालमा परापूर्वकालदेखि नै वैदिक परम्परा र हिन्दू सभ्यताका आधारमा समाजको व्यवस्थापन भएको बताउँदै बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्म निरपेक्ष कायम गर्न नहुने उनले जिकिर गरे ।

र्यालीमा सहभागिहरुले हिन्दुराष्ट्र कायम गर,वैदेशिक हस्तक्षेप बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । विरोध रयालीमा वीरेन्द्र कर्ण,प्रकाश राणालगायत धनुषाका बिभिन्न पालिकाबाट आएका नेताहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्