नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो



काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड१९)बाट थप दुई जनाको मृत्यु भएको छ ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गोरखाका एक पुरुष र रुपन्देहीका वृद्धको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

डा. गौतमले मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए ।

उनी मधुमेहका बिरामी थिए । उनको असार १९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए ।

त्यसैगरी मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको र कोरोना रिपोर्ट पोजेटिभ भने असार १८ गते आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा शनिबार थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्