बझाङ पहिरो अपडेट : ६ जनाको शव फेला, एक जना अझै वेपत्ता



बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव मृत्यु भएको छ भने अर्का एक जना अझै वेपत्ता रहेका छन् ।

वडा अध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव भेटिएको छ । त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो । २० वर्षीय गिरि जेठारा भने अझै वेपत्ता भएको वडा अध्यक्ष बोहोराले जानकारी दिए ।

शनिबार बिहान २ बजे वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको उनले बताए । राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए ।

स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ ।

यसैबिच पहिरो पीडितका लागि गृह मन्त्रालयसँगको समन्वयमा खाद्यान्न तथा लत्ताकपडासहित हेलिकोप्टर जाँदैछ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार संघ र प्रदेश सरकारले राहत पठाउन लागेको जानकारी पाएको बताए । तर घटनास्थलमै ल्याण्ड गर्न नसक्ने भएकाले जिल्लास्थित सेनाको ब्यारेकमा सामान झारेर गाडीबाट लैजाने तयारी भएको बताइएको छ ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्