प्रधानमन्त्री शीतल निवासमा, मन्त्रीहरु बालुवाटारमा



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

केही बेरअघि उनी राष्ट्रपति भण्डारीसँग परामर्शका लागि शीतल निवास छिरेका हुन् । ‘अहिले उहाँ शीतल निवास जानु भएको छ’, प्रधानमन्त्रीका एक जना सल्लाहकारले भने, ‘त्यसपछि मन्त्रीहरुसँग परामर्श गर्ने कार्यक्रम छ ।’

सत्तारुढ नेकपाभित्रको विवादले उग्ररूप लिरहँदा प्रधानमन्त्रीले राष्ट्रपतिसँग निरन्तर परामर्श गरिरहेका छन् । पछिल्लो पटक नेकपा स्थायी कमिटी बैठक चलिरहँदा उनले एकै दिन दुई पटकसम्म राष्ट्रपतिलाई भेटेका थिए ।

प्रधानमन्त्रीले शीतल निवासबाट फर्किएपछि मन्त्री र राज्यमन्त्रीहरूलाई भेट्ने भएका छन् । त्यसका लागि उनले आफ्नो क्याबिनेटका सबै मन्त्री र राज्यमन्त्रीहरूलाई शनिबार साँझ ७ बजेका लागि बालुवाटारमा बोलाएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादले पार्टी फुटको अवस्थामा पुगेका बेला प्रधानमन्त्रीले आफूनिकटहरुसँग परामर्शलाई पनि तीव्र बनाइरहेका छन् ।

आफूमाथि दुवै पद छाड्न दाहालले दबाब दिएपछि ओलीले कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् । उनले पार्टी फुट्नेसम्मको अवस्था आउने भएकाले त्यही अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्