मध्यरातसम्म सात घन्टा वामदेवनिवासमा छलफल



नेकपा विभाजनसम्मको आशंका भइरहेका वेला प्रधानमन्त्री केपी ओलीनिकट नेताहरूले शुक्रबार मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैँसेपाटीमा छलफल गरेका छन् ।

‘डिनर’सहितको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । शुक्रबार बिहान महासचिव विष्णु पौडेलले उपाध्यक्ष गौतमलाई शीतलनिवास लगेर राष्ट्रपतिसँग संवाद गराएका थिए ।

नेता गौतमले यसबारे शनिबार बिहान नेकपा अध्यक्ष प्रचण्डनिवासमा सचिवालयका अन्य पाँच सदस्यलाई जानकारी दिएका छन् । गौतमले आफ्नो निवासमा भएको छलफलबारे प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, मावधकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई भनेका छन्, ‘मलाई भावी अध्यक्ष बन्ने अफर आयो । बहुदलीय जनवादको नेतृत्व गर्ने भनियो । तर, मैले धेरैपटक धोका पाएँ, अब त्यस्तो गल्ती गर्दिनँ भनेर पठाएँ ।’

शुक्रबार साँझ साढे ६ बजेदेखि राति साढे १ बजेसम्मको छलफलमा शुक्रबार प्रचण्डनिवास खुमलटारमा भएको सचिवालयका ६ नेताहरूको छलफलबारे जानकारी लिँदै पोखरेलसहितका नेताहरूले गौतमलाई ओलीको पक्षमा मनाउने कोसिस गरेका थिए । गौतमले सचिवालयका नेताहरूलाई बताएअनुसार ओली समूहका नेताले महाधिवेशनपछि पार्टीको र संसदीय दलको नेतृत्व गर्ने गरी अगाडि बढ्न प्रस्ताव गरेका थिए ।

यसबाहेक ओली समूहका नेताहरूले प्रचण्ड–नेपाल समूहले पार्टी फुटाउन लागेको भन्दै उनीहरूले सकभर पार्टी एकता जोगाउने पक्षमा र यदि विभाजनकै दुर्घटना निम्तिएमा पूर्वएमालेधारको ‘सिनियर’ नेताको हैसियतमा ओलीलाई साथ दिन आग्रह गरेको स्रोतले बतायो ।

जवाफमा गौतमले दुवैतर्फबाट पार्टी फुटाउने गृहकार्य भएको भन्दै आफूलाई निरन्तर धोका दिएका ओलीको पक्षमा पनि नलाग्ने र प्रचण्ड–नेपाल समूहको नेतृत्वको पार्टीमा नलागी बरु एक्लै भए पनि ‘स्वतन्त्र वामनेता’को हैसियतमा बस्ने जवाफ फर्काएका थिए ।

‘मैले उहाँलाई एकतर्फी निरन्तर सहयोग गर्दै आएँ, तर उहाँ (केपी ओली)ले मलाई हदैसम्म अपमान मात्रै गर्नुभो, धोका दिनुभो, उहाँहरू (प्रचण्ड–नेपाल) पनि सहमतिभन्दा बहुमत र अल्पमतको नाममा निर्णय गरेर पार्टी फुटाउने तयारीमा जस्तो देखिनुहुन्छ, खोज्दै हुनुहुन्छ, तयारी त्यस्तै छ,’ गौतमको जवाफ उद्धृत गर्दै सहभागीमध्ये एक नेताले भने, ‘विभाजनबाट के हुन्छ ? मलाई सबै थाहा छ, दुर्घटना नहोस्, त्यस्तो अवस्था आयो भने म (ओली÷प्रचण्ड–नेपाल समूह) कतै लाग्दिनँ, बरु एक्लै भए पनि तटस्थ बस्छु ।’

तर, भेटमा सहभागी संसदीय दलका उपनेता नेम्वाङले पनि गौतमसँग सकारात्मक कुराकानी भएकाले परिणाम देखिन बाँकी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्