कोरोनाबारे अनुसन्धान गर्न डब्लूएचओका टोली चीनको वुहान जाँदै



जेनेभा : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) रोगबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीहरु चीन जाँदैछन् ।

गत वर्षको डिसेम्बरबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोनाबारे अनुसन्धान गर्न डब्लूएचओका अधिकारीहरु अर्को साता चीनको वुहान जाने भएका हुन् ।

जुन ठाउँबाट गत वर्षको डिसेम्बरदेखि कोभिड १९ फैलिन शुरु भएको बताइन्छ । चीन पुगेर अनुसन्धान गर्ने भने पनि विश्व स्वास्थ्य संगठनले यसको मिति तय गरी तयारी भने गरेको थिएन । यसबीचमा अमेरिकाले डब्लूएचओ र चीनको सम्बन्धलाई जोडेर विभिन्न आरोप लगाइसकेको छ ।

कोभिड १९ का कारण विश्वभर पाँच लाखभन्दा धेरैको मृत्यु हुनुका साथै एक करोड बढी संक्रमित भएका छन् । चीनमा पनि चार हजारभन्दा धेरैको मृत्यु भएको बताइएको छ ।

यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने चीनले वुहानको ल्याबबाट कोभिड–१९ उत्पादन गरी विश्वभर फैलाएकोमा आफू विश्वस्त रहेको जिकिर गर्दैआएका छन् ।

यद्यपि अमेरिकी विज्ञहरुले यो मानव निर्मित नभएको बताउँदै आएका छन् ।

यस्तैमा डब्लूएचओले यसबारे आगामी हप्ता चीनमा नै पुगेर अनुसन्धान गर्ने भएको हो । यसवाहेक डब्लूएचओले महामारीलाई बेवास्ता नगर्न आग्रह गर्दैआएको छ । महामारीको असर अझै बढ्ने क्रममा रहेकाले यसबाट सावधान रहन डब्लूएचओको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्