चेल्सी फेरि शीर्ष चारमा



चेल्सीले इंग्लिस प्रिमियर लिगमा फेरि शीर्ष चारको स्थान हात पारेको छ । शनिबारको अन्तिम लिग खेलमा चेल्सी वाटफोर्डलाई ३–० ले हराउँदै शीर्ष चारमा पुगेको हो ।

त्यसमा ओलिभर जिरोर्ड, विलियन र रोस बार्कलीले गोल गरे । हारसँगै वाटफोर्ड थप दबाबमा परेको छ ।

वाटफोर्ड रेलिगेसन क्षेत्रबाट केवल एक अंक मात्र अगाडि छ । यसअघि म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई ५–२ ले हराएर केही समयका लागि शीर्ष चार प्रवेश गरेको थियो ।

आफ्नो अघिल्लो खेलमा वेस्ट ह्यामविरुद्धको खेल गुमाएपछि चेल्सी वाटफोर्डविरुद्ध निश्चित जित निकाल्न दबाबमा थियो । शनिबारको अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० ले हरायो । हारले उल्भ्सको युरोपमा खेल्ने सपनामा धक्का पुगेको छ ।

आर्सनलले १८ वर्षीय बुकायो साकाको पहिलो प्रिमियर लिग गोलमा अग्रता लिएको थियो । त्यसपछि एलेक्जान्डर लाकाजेटले दोस्रो गोल थपे ।

प्रतिक्रिया दिनुहोस्