फ्रान्सका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा



फ्रान्स : फ्रान्सका प्रधानमन्त्री फिलिप एड्वार्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर नगरप्रमुखको पद रोजेका छन् ।

स्थानीय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उमेदवारी दिएका उनी प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण निर्वाचनका बेला एकपटक पनि आफ्नो नगरपालिकामा प्रचारप्रसार गर्न फर्किएका थिएनन् ।

आफ्ना ईमान्दार कार्यकर्ता र उनको ईमान्दारिताका कारण निर्वाचनमा उपस्थित नै नहुँदा पनि उनलाई जिताएपछि उनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर नगरप्रमुखमै बस्ने निर्णय गरेका हुन् । फिलिप नगरप्रमुखमा विजयी भएको फ्रान्स २४ डटकमले जनाएको छ ।

कम बोल्ने, देश र समाजका लागि चौबिसै घण्टा काममा खटिने र निस्कलंकित उनको छविका कारण राष्ट्रपति एमानुयल माक्रोंले उनलाई १५ मे २०१७ मा प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । विवादमा पर्नै नचाहने, कम बोल्ने, धेरै खट्ने र कानुनका ज्ञातासमेत भएकाले उनी राष्ट्रपतिका निकट सहयोगीसमेत थिए ।

आफूले नगरबासीसित चुनावको प्रचार त के हात मिलाउनसमेत नपाउँदा पनि जिताएकोमा भावुक बनेका उनले शुक्रबार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए । शनीबार उनको राजीनामा स्वीकृत भएको त्यहाँका स्थानीय समाचारहरुले जनाएको छ ।

अलजजिरा र बीबीसीका अनुसार प्रधानमन्त्री पदबाट राजीनामा गरि नगरप्रमुख बनेर फिलिपले धेरैलाई आश्चर्यमा पारिदिएका छन् भने उनी फ्रान्समा राष्ट्रपति माक्रोंभन्दा लोकप्रिय मानिन्छन् ।

प्रकाशित : असार २१, २०७७

प्रतिक्रिया दिनुहोस्