आज देशभर बदली




काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आइतबार पनि बदली भइ धेरै स्थानमा पानी पर्ने जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै भारतको पूर्वी उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको पनि प्रभाव नेपालमा परेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी सोमबार प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै मंगलबार पनि देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित : असार २१, २०७७

प्रतिक्रिया दिनुहोस्