ओलीलाई श्रेष्ठको आग्रह : राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

प्रवक्ता श्रेष्ठले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न आग्रह गरेका हुन्।

राष्ट्रपतिविरुद्ध विभिन्न झुठो प्रचार भएको भन्दै प्रवक्ता श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय संस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं,’ उनले भनेका छन्, ‘राष्ट्रपति विरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं।’

राष्ट्रपति विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने झुठो प्रचार भएको प्रति उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

पछिल्लो समय राष्ट्रपतिसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाट बाक्लिएको र अकस्मात् संसद्‍को बजेट अधिवेशन समेत अन्त्य भएको भन्दै राष्ट्रपतिले व्यक्ति विशेषको रुचिअनुसार काम गरेको आरोपसमेत लाग्ने गरेको छ।

नेकपाभित्रको शक्तिसंघर्ष झन् उत्तेजक अवस्थामा पुगेकोले प्रधानमन्त्री केपी ओलीले राजनीतिक मात्र होइन, संवैधानिक शक्ति प्रयोग गर्ने स्पष्ट सन्देश दिएका छन् । ओलीको सन्देशले मिलनको सम्भावना कमजोर भएको अर्को पक्षको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्