सडक मर्मत नगरेको भन्दै स्थानीयद्वारा पुलचोकमा प्रदर्शन



जनकपुरधाम : स्थानीय सरकार निर्माण भएको तिन वर्षमा पनि सडक मरम्मत सम्भार गर्न नसक्दा वर्षातको बेला समस्या भोग्नु परेको भन्दै जनकपुरमा स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ स्थित पुलचोक जाने बाटोमा स्थानीय, युवा र व्यापारीहरुले जनकपुरधाम उपमहानगरपालिका बिरुद्ध नाराबाजी गर्दै आज (आइतबार) बिहान सडक अवरुद्ध गरेका हुन् ।

धनुषाको पूर्वी क्षेत्र औरही, सबैला, यदुकुहा, तिनकौरिया लगायत सिरहा समेत जोड्ने उक्त हुलाकी सडकको अवस्था दयनीय रहेको र हल्का वर्षातमा पनि त्यहाँ ३/४ फिटसम्म पानी जम्ने गरेकोले आवात जावतमा समस्या भइरहेको भन्दै आफुहरुले सडक अवरुद्ध गरेको स्थानीय राजीव साहले बताए ।

उनले भने, ‘जनकपुरधाम वडा नम्बर–१६ र १९ को सीमाना समेत रहेको सो हुलाकी सडकमा मरम्मत सम्भार नहुँदा दैनिक दुर्घटना हुने गरेको छ । यसअघि पनि आफूहरुले पटक पटक सडक अवरुद्ध गरेर आन्दोलन गरेपनि स्थानीय सरकारले समस्या समाधान हुने आश्वासन दिएपनि समस्या ज्यूँका त्यूँ रहेको छ ।’

यता सडक मरम्मत सम्भार किन हुन नसकेको प्रश्नमा वडा नम्बर–१६ का वडाध्यक्ष रामअशीष पजियारले सो सडक हुलाकी सडकखण्ड भएकोले उपमहानगरले बनाउन नसक्ने प्रतिक्रिया दिए ।

वडाध्यक्ष पजियारले असार २५ गतेसम्ममा समस्या समाधान गर्ने बारे स्पष्ट जवाफ दिने प्रतिबद्धता जनाएपछि डेढ घण्टापछि जाम गरिएको सडक सुचारू भएको थियो ।

प्रकाशित : असार २१, २०७७

प्रतिक्रिया दिनुहोस्