कञ्चन हत्या प्रकरण : १८ जना पक्राउ



जनकपुरधाम : गत शुक्रबार बिहान जनकपुरमा बलात्कार पश्चात हत्या गरि फालिएकी ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारको घटनामा धनुषा प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

धनुषा प्रहरीले कञ्चनको शव फेला परेको दिननै सोही वडास्थित श्मशान घाटमा बस्ने अघोरी बाबा र दुई जना अन्य नाम नखुलेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । शव फेला परेको चार दिन भित्र धनुषा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । अनुसन्धानको क्रममा पक्राउ परेका युवाहरु लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट प्रमाणको रुपमा एउटा ब्ल्याङकेट समेत फेला परेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । असार १९ गतेनै जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता रामेश्वर कार्कीको उपस्थितिमा मृतक बालिकाको शव ७ जना डाक्टरहरुको समूहले पोस्टमार्टम समेत गरिसकेको भएपनि रिपोर्ट भने अहिलेसम्म आउन सकेको छैन ।

बलात्कार हो होइन भन्ने प्रश्नमा डिएसपी कार्कीले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकीन भन्न सकिन्छ । प्रकृति हेर्दा हत्या नै गरेको हो भन्न सकिन्छ तर यथार्थ कुरा रिपोर्ट आएपछि मात्र बाहिरिने छ ।’

‘हामीले अनुसन्धान तीब्र रुपमा अगाडि बढाएका छौं,’ डिएसपी कार्कीले भने,‘अहिलेसम्म १८ जनालाई हामीले नियन्णमा लिएर बिभिन्न अनुसन्धान अगाडि बढाएका छौं ।’ उनले पोस्टमार्टमको रिपोर्ट रिपोर्ट आज आउनसक्ने समेत जानकारी दिए ।

यसैबीच, नेपाली कांग्रेस नगर कमिटीले हत्यारालाई कडा कारवाहीको माग गरेको छ । मृतक परिवारलाई भेट गर्न पुगेका नेपाली कांग्रेस नगर कमिटीका अध्यक्ष मनोज साहले यस्ता मानवता विरोधी तत्वलाई तत्कालै खोजी गरी हदैसम्मको कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

कांग्रेस नगर कमिटीले यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र प्रहरी प्रमुख रमेश कुमार बस्नेतलाई समेत ध्यानाकर्षण गराएका छन् ।

१७ गते बिहान भैंसी चराउन घरबाट निस्केकी ११ वर्षीया कञ्चनको असार १९ गते बिहान ११ बजे स्थानीय श्मशानघाट नजिकै दुधमती नदी किनारमा शव फेला परेको थियो ।

प्रकाशित : असार २१, २०७७

प्रतिक्रिया दिनुहोस्