‘मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने चिन्ता हट्यो’- मन्त्री मगर



काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएको बारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिएकी छन् ।

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ । सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरीफेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने जानकारी दिए ।

सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी आयोजनाले सम्पन्न गरिसकेको छ। शुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रति सेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिदैछ। सुरुङको सुरक्षा तथा संचालनका लागि प्रचलित अन्तरर्राष्ट्रिय मापदण्ड अनुरुप पानी प्रवाह गरिने छ। यसअनुरुप पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिएपछि पूर्ण भरिएको सुरुङलाई केही दिन यथास्थितिमा राखिने मन्त्रालयले जनाएको छ ।

त्यसपछि पानी भरिएकै दरमा सुरुङ्ग खाली गरी सुरुङको अवस्थाको पूर्ण परीक्षण गरिएपछि कुनै समस्या देखिएमा आवश्यकता अनुसार तिनको समाधान गरिने बताइएको छ । त्यसपछि भने नियमित रुपमा पानी पथान्तरण गरी काठमाडौं उपत्यकाको वितरण प्रणालीको लागि उपलब्ध हुनेछ।

पानी पथान्तरण शुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरु साथै बाग्मती नदीमा कुनैपनि बेला पानीको बहाब बढ्नसक्ने भएकाले नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन मेलम्ची खानेपानी आयोजना विकास समितिले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको बताइन् । मन्त्री मगरले भनिन्– ‘मेलम्चीबारे थुप्रै आशंकाहरु थिए । आम जनतामा निरासा थियो । मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरु पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो ।’

मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । मन्त्री मगरले भनिन्– ‘मेलम्ची आयोजना निकै लामो समयदेखि सुरु भएको आयोजना हो । मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहें । आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरु आए, अनेकौं गलत प्रचारहरु गरिए । तर, हिम्मत नहारिकन हामी अगाडि बढ्यौं । त्यसकै प्रतिफल आजको उपलब्धी हासिल गरेका छौं । यसले हामी सबै नेपालीको शीर उच्च भएको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए । उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए ।

काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि बिभिन्न प्रयासहरु गर्दै आएकको थियो ।

यसै क्रममा सरकारले वि.सं. २०२९ देखि नै खानेपानी आपूर्तिका लागि संभाव्य स्रोतहरुको पहिचानका लागि अध्ययन कार्य थालेकोमा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची लगायत विभिन्न २२ वटा विकल्पहरु पहिचान गरेको थियो। वि.सं. २०४९ को तुलनात्मक अध्ययनबाट आर्थिक र प्राविधिक रुपमा उत्तम विकल्पको रुपमा मेलम्ची, याङ्ग्री र लार्के नदीहरुबाट दैनिक कूल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निश्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्