ओलीको सन्देश लिएर नेम्वाङ देउवा निवासमा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता नेम्वाङ कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् ।

ओलीले पार्टी फुटाएर कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने हल्ला चलिरहेका बेला उनले नेता नेम्वाङलाई देउवा कहाँ पठाएका हुन् । तर, नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले नजोपडएको बताए ।

उनले भने–‘देशमा यति गम्भीर विषयहरू उठिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीले कुरा गर्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीले अहिलेका यी सबै सन्दर्भमा हाम्रो तर्फबाट पनि ‘हेलो भन्देउ है’ भन्नुभयो म गएर उहाँलाई भेटेँ हेलो भनेर आएँ ।’

‘यस्तो किसिमको भेटघाटलाई पनि कसैले प्रश्न उठायो भने ती साथीले कसको हित चाहिरहेका छन् भन्ने कुरा भन्नुपर्ने हुन्छ । त्यस्तो प्रश्न उठाउने कोही हुनुहुन्छ भन्ने मलाई थाहा छैन । विश्वास छैन ।’

उनले ओलीले देश र जनताका लागि मिलेर अघि बढ्न देउवालाई सन्देश पठाएको बताए ।

यसअघि गत बुधवार ओलीले बालुवाटारमा देउवासँग गोप्य भेटघाट गरेको विवरण पनि आएका थिए । तर, उक्त भेट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीलाई लिएर मात्र भएको कांग्रेसका नेताहरूले विभिन्न सञ्चारमाध्यममा बताएका थिए ।

प्रकाशित : असार २१, २०७७

प्रतिक्रिया दिनुहोस्