बन्दाबन्दीमा विभिन्न मुद्दाका २९ जना जेल चलान



काठमाडौं  : बन्दाबन्दीको अवधिमा जिल्ला अदालत दाङमा दर्ता भएका विभिन्न प्रकृतिका ६३ मुद्दामा २९ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै ज्यानसम्बन्धी कसुरका अदालतमा १७ वटा मुद्दा परेका छन् । त्यस्तै करणीसम्बन्धी १४, सवारी ज्यानका १०, वनसम्बन्धी नौ, बालविवाह कसुर तीन, लागुऔषध, गौवध र ठगीसम्बन्धी दुई/दुई तथा नागरिकतासम्बन्धी, अपमानजनक व्यवहार, गर्भपतनसम्बन्धी र हातहतियार खरखजना मुद्दा एक/एक गरी ६३ मुद्दा दर्ता भएका अदालतका न्यायाधीश रितेन्द्र थापाले जानकारी दिए । ती मुद्दामध्ये ४९ जना धरौटी राखेर तारिखमा छुटेका छन् भने १२ जना साधारण तारिखमा छुटेका न्यायाधीश थापाले जानकारी दिए ।

उनका अनुसार अभियुक्तमध्ये २१ जना फरार रहेका छन् भने चार जनालाई अभिभावकको जिम्मा लगाइएको छ । ६३ मुद्दामध्ये ६१ वटा मुद्दा फैसला भएका छन् । जसमध्ये २९ वटा मुद्दामा भिडियो कन्फ्रेन्सिङ प्रयोग गरिएको थियो । त्यसैगरी अदालतले बन्दाबन्दीका समयमा ८३ मुद्दामा म्याद थप, ५१ मुद्दामा पक्राउ अनुमति र १११ मुद्दामा जरुरी पक्राउ पुर्जीका अनुमति दिएको बताए ।

यसैबीच जिल्ला अदालतले चालू आर्थिक वर्षको हालसम्म एक हजार बढी मुद्दा फछ्र्यौट गरेको छ । चालू आवको हालसम्म एक हजार १७१ मुद्दा फछ्र्यौट गरेको जिल्ला न्यायाधीश थापाले बताए । फछ्र्यौट भएकामध्ये ५८८ मुद्दा जिम्मेवारी सरी आएका र ५८३ मुद्दा यसै वर्ष दर्ता भएका हुन् ।

उनका अनुसार अदालतमा गत वर्ष जिम्मेवारी सरेर आएका एक हजार दुई र नयाँ दर्ता भएका एक हजार ५३६ गरी दुई हजार ६०१ मुद्दा रहेका छन् । दुई हजार १३ फछ्र्यौट गर्ने लक्ष्य रहे पनि बन्दाबन्दीका कारण लक्ष्यभन्दा आधा एक हजार १७१ मुद्दा फछ्र्यौट गरेको छ । अहिले अदालतमा दर्ता भएका एक हजार ४४७ मुद्दा बाँकी रहेका छन् ।

त्यसैगरी अदालतमा बाल इजलासका ३७ मुद्दा फछ्र्यौट भएका छन् । जिम्मेवारी सरेर आएका ३३ र नयाँ दर्ता भएका ३९ गरी जम्मा ७२ मुद्दामध्ये ३७ वटा फछ्र्यौट भएका छन् । बाल इजलासका ३५ मुद्दा बाँकी रहेका छन् । जसमध्ये जिम्मेवारी सरी आएका २५ र नयाँ दर्ता भएका १२ मुद्दा यो वर्ष फैसला भएका थापाले बताए ।

अदालतले १०८ वटा थनुवा मुद्दा फछ्र्यौट गरेको छ । जिम्मेवारी सरेर आएका १०८ र नयाँ ११२ गरी अदालतमा दर्ता भएका २२० मुद्दामध्ये अदालतले यो वर्ष १०८ वटा मुद्दा फछ्र्यौट गरेको हो । ११८ मुद्दा बाँकी रहेका छन् । ९७ जना थुनुवामध्ये आठ जना महिला र दुई जना बालबालिका रहेका छन् ।

यस वर्ष ५३ मुद्दामा मेलमिलाप भएको छ । अदालतले मेलमिलापमा पठाएका ३७६ मुद्दामध्ये ५३ मुद्दामा मिलाप भएको न्यायाधीश थापाले जानकारी दिए । जसमध्ये २६३ मुद्दामा मेलमिलाप हुन बाँकी रहेका समेत उनले बताए । मेलमिलापमा पठाएकामध्ये १९ मुद्दा गत वर्षबाट जिम्मेवारी सरेर आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्