मैले किन दिने प्रधानमन्त्रीबाट राजीनामा ? किन छोड्ने पार्टी अध्यक्ष ?



काठमाडौं : सत्तासीन नेकपामा शक्ति–संघर्ष साम्य भएको छैन। सहमतिको बिन्दु खोज्न आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले दुई–दुई विश्वासपात्रसहित बैठक गरे। साथमा थिए, ओलीतर्फ विष्णु पौडेल र शंकर पोखरेल, दाहालतर्फ जनार्दन शर्मा र वर्षमान पुन। अत्यन्त तिक्ततापूर्ण सुरुआत भएको बैठक अन्त्यतिर केही मत्थर भयो। फेरि सोमबार समाधानको खाकासहित वार्ता हुने भएको छ।

प्रस्तुत छ, उक्त बैठकमा दुई अध्यक्षको वार्तालाप सुनेका नेताहरूसँग गरिएको कुराकानीका आधारमा उतारिएको संवाद :
स्थान : प्रधानमन्त्री निवास, बालुवाटार
समय : आइतबार मध्याह्न १२ः२०

पात्र : केपी शर्मा ओली, पुष्पकमल दाहाल, विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा।

ओली : (कुरा सुरु गर्दै) तपाईंहरू ६ जना बसेकै हुनुहुन्छ, हिजो पनि बस्नुभयो क्यारे। त्यहीं बन्यो होला नि सहमतिको खाका ? के के बनाउनु भएको छ ? बसेर के के गर्नु भएको छ ? लौ सुनाउनुहोस्।

दाहाल : तपाईंले सबै कुरा बर्बाद गर्ने भएपछि बस्नै पर्‍यो नि। अध्यादेश ल्याउने, पार्टी फोड्ने तयारी गरेपछि पार्टीलाई कसरी बचाउने, जोगाउने भनेर सल्लाह गर्नु परेन हामीले ? त्यही सल्लाह गरेका हौं बसेर।

ओली : मलाई त हटाउने कुरा गर्नु भएकै छ, राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउँदै हुनुहुन्छ क्यारे… कहिले हो लगाउने ?

दाहाल : कस्ले भन्यो यस्तो हावादारी वाहियात कुरा ? राष्ट्रपतिको गरिमामय पदलाई समेत विवादमा तान्ने गरी यसरी प्रचारबाजी गर्ने ? कहाँ त्यस्तो गरिएको छ ?

ओली : मलाई थाहा छ। सूचना मकहाँ आइपुगेको छ। तपाईहरु बसेर के के गर्दै हुनुहुन्छ भन्ने कुराको…

दाहाल : सूचना भए भन्नुहोस् के के छ ? कहाँ–कहा के के गरिएको छ ? गलत सूचनामा नलाग्नुहोस्।

०००

प्रधानमन्त्री ओली र दाहाल दुवैको घोचपेचमा बालुवाटार बैठक सुरु भयो। दुईतिर मुख फर्काउन थालेका दुई अध्यक्षको झोक्काझोक्कीमा चुपचाप बसेर सुनिरहेका थिए पौडेल, पोखरेल, पुन र शर्मा। वातावरण सुरुमै बिथोलिन खोजेपछि चुपचाप बसेका दोस्रो पुस्ताका यी ४ नेताहरू अगाडि सर्न थाले।


सहभागी ४ नेताहरू : (दुवै अध्यक्षलाई शान्त हुन आग्रह गर्दै) अहिले दुनियाँले यो हाम्रो छलफललाई हेरिरहेको छ, पार्टी र सरकारलाई जोगाउने र एकताबद्ध भएर कसरी निस्कने भन्ने हाम्रो अहिलेको छलफलको विषय हो। आपसी असमझदारी बढाउने होइन, घटाउनेतिर सोच्नुपर्छ। तर पनि स्थिति साम्य हुन सकेन।

दाहाल : तपाईंले हिजो मन्त्रीहरूलाई नै बोलाएर कित्ता छुट्ट्याउनुहोस् सम्म भन्न भ्याउनुभयो। तपाईंका गतिविधि एकपछि अर्को गरी पार्टी एकता संकटमा पार्ने खालकै देखिएका छन्। यस्ता गतिविधि रोक्नुहोस्, म एकताकै कुरा गर्न आएको छु।

ओली : कसले एकता नगर्ने भनेको छ र ? तर तपाईंहरूका गतिविधि एकता जोगाउने छन् कि भत्काउने ? हेर्नु पर्दैन ? सोच्नु पर्दैन ?

दाहाल : तपाईं युवा विद्यार्थीलाई बालुवाटार बोलाउनुहुन्छ। पार्टी नेताहरू विरुद्ध सडकमा प्रदर्शन गर्न उतार्नुहुन्छ। गालीगलौजमा लगाउनुहुन्छ। यसले वातावरण बिथोल्ने मात्र काम गरेको छ।

ओली : कहाँ उचालें मैले रु उल्टै तपाईंहरू ग्याङ बस्नुहुन्छ, मविरुद्ध तानाबाना बुन्नुहुन्छ। घेराबन्दी गर्नुहुन्छ। मलाई सबै जानकारी छ।(फेरि दोस्रो पुस्ताका नेताहरू अगाडि सर्छन् )

दोस्रो पुस्ताका नेताहरू : कमजोरी दुवै पक्षका होलान्। अब गल्ती नदोहोर्‍याउने र यस्ता गतिविधिलाई नियन्त्रण गरेर जाने गरी वातावरण निर्माण गरौं। विश्वासको वातावरण पहिले बनाऔं। असमझदारी र आशंका हटाउने गरी अगाडि बढौं। एकअर्का नेताप्रति लक्षित गतिविधि र आरोप प्रत्यारोप रोकौं।

दाहाल : ठीक छ, यस्ता गतिविधि रोकौं, कसले हुन्न भनेको छ :

ओली : ठीक छ, यसमा रोकौं। त्यसपछि दुई अध्यक्षबीच अनौपचारिक सहमति बन्यो– सडकमा एकअर्काकै पक्ष, विपक्षमा नउत्रने। नाराबाजी र प्रदर्शन रोक्ने। सामाजिक सञ्जालहरूमा आरोप प्रत्यारोप नगर्ने। वार्ता र संवादबाटै सहमतिको खोजी गर्ने। पार्टी एकताका लागि आह्वान गर्ने गरी वातावरण निर्माण गरेर जाने। दुवै अध्यक्ष केही शान्त र मत्थर देखिए। दोस्रो पुस्ताका नेताहरू स् अब विषय प्रवेश गरौं। विवाद लम्ब्याउनेभन्दा सहमतिको खोजी गरौं। पार्टी एकतालाई जोगाउने गरी विन विन बाटो खोजौं।

ओली : तपाईंहरूले भन्दै गर्नुहोस्, तर म दुवै पद छोड्दिनँ। मैले पटक–पटक भनिसकें। यसमा म दायाँ–बायाँ हुन्न। कसैले यसरी भन्दैमा मैले किन दिने प्रधानमन्त्रीबाट राजीनामा ? किन छोड्ने पार्टी अध्यक्ष ? यो कल्पनाभन्दा बाहिरको विषय हो।

दाहाल : कहीँ न कहीँ सहमति त खोज्नैपर्छ। लचिलो कहाँसम्म हुने :

ओली : म दुवै पद छोड्दिनँ। तपाईंहरू अनावश्यक उचालिने नगर्नुस्। कुरै सकिन्छ।

दाहाल : कहाँ त्यसरी हुन्छ : तपाईंले केही न केही त्याग गर्नैपर्छ। साथीहरूले त्यसरी कुरा उठाइसकेपछि बैठकमा जाने, त्याग गर्ने काम तपाईंले गर्नैपर्छ।

ओली : सहमति मंसिर ४ मा दुई अध्यक्षको कार्य विभाजनमा गरिएको सहमतिबाट खोजौं। त्यहींबाट निस्कन्छ निकास। त्यसैलाई स्थायी समितिमा थप व्याख्या गरेर अनुमोदन गराएर जाऔं।

दाहाल : मंसिर ४ भन्दा अगाडिको पार्टी एकता गर्दाको २ जेठको सहमतितिर जाऔं न त। त्यसलाई आधार बनाएर खोजौं। कुरा त्यहींबाट बिग्रेको छ। त्यहीबाटै सपारेर जाऔं।

ओली : त्यसमा हुन्न। ४ मंसिरमा दुई अध्यक्षका बीचमा अधिकार बाँडफाँट भएकै छ। त्यहाँ कहाँ के नमिलेको हो, त्यसमा मिलाउन सकिन्छ।

दाहाल : ४ मंसिरको सहमति धेरै पछि हटिसक्यो, त्यसमा मात्र हुन्न। नयाँ सहमतिको खोजी गर्नुपर्छ। (वातावरण फेरि बिग्रने सम्भावना देखेपछि दोस्रो पुस्ताका नेताहरू अगाडि सरे।) दोस्रो पुस्ताका नेताहरू स् यो हुन्छ, हुन्न भन्दा पनि सहमति के के मा कसरी गर्ने, खाका बनाएर छलफल थालौं।

दाहाल : ठीक छ, खाकै बनाएर छलफल गरौं।

ओली : हेरौं न त, कस्तो खाका ?

दोस्रो पुस्ताका नेता : भोलि बिहान ठण्डा दिमागमा छलफलमा बसौं। एउटा गृहकार्यसहितको खाकामा छलफल गर्ने गरी।

दाहाल : लौ ठीक छ, तपाईंहरू पनि अनौपचारिक रूपमा छलफल गर्नुहोस्, एकआपसमा छलफल गरौं। ठोस केही खाका बनाई सहमति खोजौं।

(ओली खास बोलेनन्।)

दाहाल : स्थायी समितिको बैठक छ, भोलि नै। त्यस अगाडि बिहानै बसौं।

(सोमबार बिहान छलफल गर्ने गरी दिउँसो १ः५० बजे नेताहरू उठे।)

बन्यो अनौपचारिक कार्यदल

दुई अध्यक्षले पार्टी विवादको समाधानको खोजी गरी खाका बनाउन अनौपचारिक कार्यदल बनाएका छन्। दुवै अध्यक्षले आफूहरूसँगै छलफलमा रहेका नेताहरूलाई तपाईंहरूले पनि होमवर्क गर्नुस् भनेपछि बैठकमा सहभागी पौडेल, पोखरेल, पुन र शर्माको छलफललाई कार्यदलको अर्थमा नेताहरूले बाहिर बुझेका छन्। तर यो कुनै कार्यदल भने होइन।

एक सचिवालय सदस्यले भने, ‘अध्यक्षद्वयसँगै रहेका नेताहरूले कार्यदल जस्तो बनाएर गृहकार्य गरेको बताउनु भएको त छैन। तर अध्यक्षद्वयले सामान्य गृहकार्य गर्न अह्राउनु भएको जस्तो चाहिँ देखिन्छ।’

छलफलमा सहभागी स्थायी समिति सदस्यद्वय शर्मा र पोखरेलले भने कुनै कार्यदल नबनेको बताए। ‘कसले के भन्छ भन्ने होइन, कार्यदल बनेको छैन’, शर्माले अन्नपूर्णसँग भने। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि अन्नपूर्णसँग भने, ‘कार्यदल बनेको छैन। हामी अध्यक्षद्वयको छलफलमा सहभागी मात्र हौं, उहाँहरूले छलफल गर्नु भएको छ। छलफल सकारात्मक छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्