हामी सपना देखाउने चरणबाट काम गर्ने चरणमा छौं: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता ठिक कि बेठिक भन्ने प्रश्न अव नरहेको बताएका छन्। तेस्रो संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजिक समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन भएन संघीयता असफल हुन लाग्यो भन्ने कुरालाई एक्सनले जवाफ दिइसकेको बताए।

'समृद्धि र विकास कसैको नाम होइन', उनले भने, 'यो हाम्रो लक्ष्य हो।'

उनले देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेकोले राजनीतिक नाममा कुनै पनि जवर्जस्ती र अनुचीत कामको आवश्यक नरहेको बताए। 'अव लोकतान्त्रिक आन्दोलन हो जसले नागरिकमा दायीत्व बोध गराउँछ', उनले भने, 'हामी विकास र समृद्धिको दिशामा अघि बढ्नु पर्छ।'

उनले हाम्रो संविधानलाई कसैंसँग दाँज्न जरुरी नभएको बताए। संविधानले पुस्तौदेखि चलिआएका कुराहरुलाई पनि समेटेको बताए। लोकतन्त्रका विश्वव्यापी अवयवहरुलाई संवैधानिक रुपमा व्यवस्था गरिएको उनको भनाई छ।

संविधानले लोकतान्त्रिक मुल्यमान्यता सहितको समाजवाद स्थापना गर्ने लक्ष्य बोकेको उनको भनाई छ। नेपाली समाजमा विष्फोट भएका विद्रोहका स्वरलाई संविधानले व्यवस्थापन गरेको बताउँदै उनले शान्ति प्रक्रियाले विश्व तहको मानक तय गरेको प्रष्ट पारे।

विकास र समृद्धिको लक्ष्य बारे अरु केही हुन नसक्ने उनको धारणा छ। 'समृद्धि र विकास कसैको नाम होइन', उनले भने, 'यो हाम्रो लक्ष्य हो।'

समृद्धि र विकास प्रधानमन्त्रीको विषय मात्र नभएर समग्र नेपालीको विषय भएको उनले बताए। उनले यो राष्ट्रिय दायीत्व पुरा गर्न सबै नेपालीलाई एक साथ अघि बढ्न आग्रह गरे।

'हामी सपना देखाउने चरणबाट काम गर्ने चरणमा छौं,' ओलीले भने, 'काम भएन भन्ने सुनिएको छ', उनले भने, 'यहाँ यतिबेला तिब्र गतिमा दौडन खोज्ने र गरिहाल्छन् नि भन्नेबीचको बेमेल भइरहेको छ।' केही मानिसले सरकार बनेको ६ महिनामै ठिक ठाक खोजिरहेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्