अाज बडादसैं, टिका ग्रहणको शुभ साइत बिहान ०९:५१ बजे



नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ प्रत्येक जातजातिका आ-आफ्नैे परम्परा र चाडबाड छन्। तथापि बडादसैं त्यो चाड हो जुन प्राय: सबै जातजाति र जनसमुदायले मनाउँछन्। नेपालीहरूको महान् चाड भएकैले यसलाई ‘बडादसैं’ भनिएको हो।

नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।

घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टिका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् । यस पर्वको धार्मिक, आध्यात्मिक, पारिवारिक, सामाजिक, सांस्कृतिक एवं राष्ट्रियताका हिसाबले उत्तिकै महत्त्व छ। दसैं भन्नासाथ सबैको मनमा एक किसिमको आनन्द सञ्चार हुन्छ। मीठो खाने र राम्रो लाउने अवसरका साथ यो पर्वले घरघरमा, जनजनमा र मनमनमा उत्साह, उमंग एवं रौनक निम्त्याएको हुन्छ। साधक तथा उपासकहरूका लागि यो भगवतीको आराधना गरी अभीष्ट सिद्धि तथा शक्ति आर्जन गर्ने समय हो भने गाउँ–सहर तथा समाजका लागि सरसफाइ, विकास निर्माण, भेटघाट, मेला, उत्सव एवं मनोरञ्जनको पर्व हो।

यस महान पर्व वडा दसैंकाे उपलक्ष्यमा हामी हाम्रा पाठकहरुलार्इ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

यस पावन पर्वको मुख्य टिका ग्रहणको शुभ साइत बिहान ०९:५१ बजे ।

आज नेपालका घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुनेगर्दछन्ः

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद 

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ:

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।

सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद

जयन्ती मङ्गलाकाली,

भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात्ः ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।


हर्षको आगमन

घटस्थापनादेखि नेपालीका घरघरमा दसैं भित्रिन्छ। हर्ष, उमंग र एकताको चाड दसैंले सबैलाई घरमा निम्त्याएको हुन्छ। बालबच्चादेखि वयोवृद्धसम्म सबैलाई दसैंले हर्षित तुल्याएको हुन्छ। पढ्नलाई सहर गएका छोराछोरी, धन कमाउन परदेश गएका छोरा र बिदेसिएका लाहुरेहरू ताँती नै लागेर घर फर्कन्छन्। जागिरेहरूलाई छुट्टी हुनासाथ घरै जाने हतार हुन्छ। घरमै हुनेहरू दसैंका लागि सबैथोक जोरजाम गर्न कसिन्छन्। घटस्थापनादेखि नै घरका अगुवा र कुलवृद्धहरू पूजापाठमा व्यस्त हुन्छन्। युवायुवती घर सजाउन र बाटोघाटो निर्माणमा जुटेका हुन्छन्।

हरेक दसैंमा घरको सरसफाइ र विशेष साजसज्जा गरिन्छ। गाउँघरका बाटाहरू मर्मत हुन्छन्। पुल-पुलेसा निर्माण हुन्छन्। विभिन्न योजना बन्छन् र गाउँको विकासमा सामूहिक प्रयत्न हुन्छ। ठाउँ-ठाउँमा पिङ र रोटेपिङ हालिएका हुन्छन्। विभिन्न खेलकुदका प्रतियोगिताले गाउँघर तथा सहर-बजारलाई तताएको हुन्छ। लामो समयदेखि दसैंका लागि अन्नपात र खसी-कुखुराको जोहो गर्ने चलन छ। परिवारजनका विभिन्न आवश्यकता पूरा गर्ने समय दसैं नै हो। सबैलाई नयाँ लुगा, पत्नीलाई गरगहना, केटाकेटीलाई खेलौनादेखि भान्सा र घरमा आवश्यक विभिन्न सामान जोड्ने समय पनि दसैं नै हो। दसैंकै मौकामा नयाँ भाँडाबर्तन, सिरक-डसना र बिजुली पुगेका ठाउँमा टिभी, कम्प्युटर जस्ता विद्युतीय सामान जोड्ने चलन बढेको छ। हुनेखानेहरू भोग-विलासमा रमाउँछन् भने हुँदा खानेले सामान्य आवश्यकता पूरा गर्छन्।


भेटघाट तथा एकताको पर्व

दसैंमा परदेश गएका छोराहरू सरसामानको गतिलै भारी लिएर फर्कन्छन्। जे-जस्तो दु:खले कमाए पनि घरमा ल्याएर सक्दो खुसी बाँड्छन्। घरमा हुनेहरूले परदेशीको बाटो कुर्छन्। लामो समयदेखि परदेशीकै लागि खानेकुरा साँचेर राख्छन्। बुढेसकालका बा-आमालाई छोरो फर्कंदा कति हर्ष हुँदो हो। हिजोसम्म सुनेको बाबालाई भेट्टाउँदा लालाबाला कति रमाउँदा हुन्। बिछोडिएको श्रीमानसँग पुनर्मिलन हुँदा पत्नीलाई कति आनन्द हुँदो हो।

 

अनि स्वयं परदेशीले आफ्नै घरमा परिवारजनबीच आफूलाई पाउँदा कति आनन्द लाग्दो हो। र, छुट्टिएका साथीभाइ लामो समयपछि भेट हुँदा गाउँ कति रमाइलो हुँदो हो। दसैंमा चेलीबेटी, आफन्तजन र बन्धुबान्धवको समेत भेटघाट हुन्छ। यसर्थ यो भेटघाटको समेत पर्व हो। लामो समयदेखि माइत जान नपाएका चेलीहरू हुन् वा मामाघर जान पाइने आशामा औंला गन्दै आएका भान्जाभान्जीहरू, दसैंले उनीहरूको इच्छा पुर्याइदिन्छ। र, सबै आफन्तजनलाई भेट्ने र साना नानीहरूलाई आफन्तजनसँग चिनजान गराउने अवसर दसैंले नै जुराइदिन्छ।

दसैंमा सहर-बजारभन्दा गाउँघर रमाइलो हुन्छ। लामो सार्वजनिक बिदा हुने हुँदा सहरका अस्थायी बासिन्दाहरू दसैंमा गाउँघरतिरै फर्कन्छन्। आफ्नो गाउँघरले सबैलाई निम्त्याएको हुन्छ। त्यसैले पनि होला, दसैंमा सहर सुनसान लाग्छ। दशमी नजिकिँदै जाँदा रित्तिँदै जान्छ सहर। केही दिनलाई भए पनि सहरवासीले कोलाहलमुक्त आनन्दको सास फेर्छन्। अरू बेलाको सुनसान गाउँघर यति बेला आनन्दको केन्द्र बन्दछ।

घरघरमा महोत्सव, जनजनमा महोत्सव। नेपालीहरूको सान र मौलिक पहिचान। जहाँ छन् नेपाली, त्यहाँ हुन्छ बडादसैं। त्यसैले त विदेशमा बस्ने नेपालीहरूले विदेशमै भए पनि दसैंलाई स्वागत गर्छन्। सम्भव भएसम्म साथीभाइ र आफन्त भेला भएर दसैं उत्सव मनाउँछन्। र, विदेशीलाई समेत दसैंको स्वाद चखाउँछन्। जो जहाँ भए पनि सबै नेपालीलाई सांस्कृतिक एकताको मालामा उन्न सफल छ बडादसैं।

 


आशीर्वाद र सम्मानको पर्व

बडादसैंको अर्को पाटो आशीर्वाद संस्कृति हो। मान्यजन र कुलवृद्धले आफूभन्दा सानालाई भगवतीको प्रसादस्वरूप टीका र जमरा लगाइदिन्छन् र आफूले जानेको आशीर्वाद पनि दिन्छन्। आशीर्वाद दिने व्यक्ति शक्तिसम्पन्न हुनुपर्छ। शक्ति पाउनलाई शक्तिस्वरूपा भगवतीको पूजा-आराधना गर्नुपर्छ। दसैंमा महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपा दुर्गा भवानीको पूजाआजा गरिन्छ। शक्तिपीठ र घरमा समेत भगवतीलाई प्रतिष्ठा गरेर नौरथाभरि भगवतीका गुणानुवादले युक्त दुर्गा सप्तशती पाठ, जप, अनुष्ठान र नाचगान समेत गर्ने विधान छ। यसरी अनुष्ठान गर्ने व्यक्तिले पवित्र भएर व्रत लिनुपर्दछ। र, भगवतीको पूजा, आराधना गर्नाले व्यक्ति शक्तिसम्पन्न हुन्छ। भगवतीबाट शक्ति प्राप्त गरिसकेपछि वर्षभरि अनीष्ट हुँदैन र व्यक्ति तथा उसको परिवार सुखी हुन्छ। यही धार्मिक विश्वासलाई आशीर्वाद संस्कृतिले समेत पक्षपोषण गरेको छ।

आशीर्वाद अनुष्ठानद्वारा प्राप्त शक्तिको बाँडफाँड पनि हो। दसैंमा दिइने आशीर्वादमा वैदिकदेखि पौराणिक, तान्त्रिक र लौकिक सम्मका मन्त्र, पद्य, सूक्ति र नैतिक आदर्शका वाक्यसमेत प्रयोग हुन्छन्।

 

आशीर्वादमा प्रयोग हुने वैदिक मन्त्रले सार्वत्रिक तथा सर्वकालीन शान्ति, लोककल्याण र समाजका आदर्शलाई समेत पक्षपोषण गरेको हुन्छ। पौराणिक, तान्त्रिक वा लौकिक आशीर्वचनमा व्यक्तिलाई विभिन्न आदर्श पुरुषका गुणहरू प्राप्त भई सुखी र दीर्घायु हुने कामना गरिन्छ। लोकव्यवहारमा समेत बडादसैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने चलन छ।

 

मान्यजनप्रति गरिने श्रद्धालाई पनि दसैंले जीवन्त तुल्याएको छ। मान्यजनले दिएको आशीर्वाद थापिसकेपछि श्रद्धाले शिर निहुराई उनीहरूलाई ढोगभेट गर्ने गरिन्छ। यसो गर्नाले मान्यजन समेत प्रसन्न हुन्छन्। र, सबैमा आत्मीय भाव बढेर जान्छ। वास्तवमा यो नै नेपालीहरूको मौलिक संस्कार हो। बडादसैंले यही संस्कारलाई पुरानो पुस्ताबाट नयाँ पिँढीमा हस्तान्तरण गर्दै जीवन्त तुल्याएको छ।

प्रतिक्रिया दिनुहोस्