केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्दै



काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्दैछ । पार्टीको १४ औँ महाधिवेशनबारे छलफल गर्न सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

बैठकमा आगामी फागुन ७ देखि १० सम्मका लागि तय भएको पार्टी महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने छ । साथै हिजोको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले माग गरेपछि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे आज जानकारी गराउने छन् ।

आइतबार बसेको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको थियो ।

तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन भएसँगै महाधिवेशनको चाप बढेको छ । कांग्रेसको वर्तमान कार्यसमितिको चारवर्षे म्याद गत फागुनमा नै सकिएको हो ।

समयमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार एक वर्ष थपिएको म्यादसँगै फागुन ७–१० काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यातालिका बनाएको कांग्रेसले त्यसअघि सबै तयारी सक्नुपर्ने हुन्छ ।

क्रियाशिल सदस्यता र महाधिवेशन प्रतिनिधि चयन पनि विवादीत बन्न सक्ने देखिएकाले आजको बैठकले आवश्यक थप कार्यविधी बनाउने छ ।

बैठकमा कोरोना नियन्त्रणमा लाग्नुपर्नेमा सरकार र सत्तारुढ दल आन्तरिक विवादमा रुमल्लिएपछि त्यसबारे पनि समिक्षा हुने प्रवश्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्